काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को फरार सूचीमा रहेको गोल्डम्यान इन्भेष्टमेन्टका अध्यक्ष दीपेन्द्र अग्रवाल सरकार विरोधी आन्दोलनमा उत्रिरहेका छन् ।
धितोपत्र बोर्डले सर्वसाधारणबाट गैरकानुनी रुपमा रकम असुलेको तथ्य फेला पारेपछि वित्तीय अपराधअन्तर्गत कारबाही अघि बढाउन सीआईबीलाई लिखित पत्राचार गरेपछि फरार रहेका अग्रवाल अहिले सरकार विरोधी आन्दोलनमा सहभागि भइरहेका छन् ।
सीआईबीले गोल्डम्यान इन्भेष्टमेन्टका अन्य सञ्चालकलाई बोलाएर सोधपुछ गरे पनि अग्रवाल फरार थिए । उनी भागेर भारत पुगे पछि प्रहरीले उनलाई फरारको सूचीमा राखेको थियो ।
तर, उनी नेपालमै आएर केही सेयर कारोबारीलाई उचालेर सरकार विरोधी गतिविधिमा समावेश गराउँदा पनि सीआईबीले उनलाई नियन्त्रणमा लिन सकेको छैन् । सामाजिक सञ्जाल फेसबुकबाट सेयर लगानीकर्तालाई भेला गरेर सरकार विरोधी गतिविधिमा अग्रवाल संग्लन छन् ।
सीमित सेयर लगानीकर्तालाई उचाल्दा पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिन सकेको छैन । भारतमै रहँदा उनी सेयर लगानीकर्तालाई भड्काउने क्रियाकलापमा संग्लन थिए ।
तर, अहिले उनी नेपालमै छन् । तैपनि उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्न प्रहरी असक्षम बनेको देखिएको छ । बोर्डका अनुसार अग्रवाल नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र बोर्डका अध्यक्षसहित पदाधिकारीको विरोधमा छन् । तर, प्रहरीले उनलाई नियन्त्रणमा लिएको छैन ।
बोर्डका एक अधिकारीका अनुसार प्रहरीसँग साँठगाँठ गरेको हुनसक्ने देखिन्छ । जुन तरिकाले उनी खुलेआम घुमफरि र सरकार विरोधी गतिविधिमा देखिन्छन्, त्यसबाट अनेकन चलखेल भइसकेको बोर्डको अनुमान छ ।
सीआईबीका प्रवक्ता श्यामकुमार महत्तोले गोल्डम्यानले अहिलेसम्म ठगेको नभेटिएकाले दीपेन्द्रलाई नियन्त्रणमा लिन नसकेको बताए । यद्यपि, यसअघि सीआईबीले नै गोल्डम्यानका अन्य सञ्चालकहरुलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो ।
अग्रवाल बुबाको उपचारका क्रममा बाहिर भएकाले उनीसँग सोधपुछ गर्न नसकेको सीआईबीले जनाएको थियो । तर, अहिले सीआईबीका प्रवक्ता महत्तोले प्रमाण फेला नपरेकाले कारबाही प्रक्रिया अघि नबढाइएको प्रतिक्रिया दिए ।