काठमाडौं । पर्वतारोहण क्षेत्रमा परिचित नाम हो, लाक्पा फुटी शेर्पा । राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पासँगै सगरमाथा आरोहणका क्रममा सहकार्य गरी चर्चामा आएकी लाक्पा फुटीको अर्को परिचय हो, विश्वमै पहिलो माउन्टेन एकेडेमी स्थापना गर्ने व्यक्ति । जसले पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिमार्फत नेपालमा माउन्टेरिङ अध्ययनका लागि विश्वविद्यालयबाट अनुमति लिएर ब्याचलर लेभलसम्मको अध्ययन गराउँदै आएको छ ।
हिमाली क्षेत्र सोलुखुम्बुमा जन्मिएकी शेर्पाले नेपालमा यति धेरै हिमालहरू हुँदा पनि माउन्टेरिङका लागि अध्ययन गर्ने कुनै पनि निकाय नभएको भन्दै विश्वमै पहिलो एकेडेमीको रुपमा सञ्चालन गरेर नयाँ सन्देश दिँदै आइन् ।
सीमित तालिमकै भरमा चलेको पर्वतारोहण क्षेत्रमा लाक्पा फुटीले नै विश्वविद्यालयस्तरको ‘वार्षिक शैक्षिक कार्यक्रम‘ भित्र्याएकी हुन । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर ‘नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान‘ (नेपाल माउन्टेन एकेडेमी) स्थापना गरिन् । प्रतिष्ठानमा २०१७ देखि स्नातक तहको पढाइ भइरहेको छ भने २०२० जनवरीदेखि ‘साहसिक पर्यटन‘ विषयमा मास्टर डिग्री अध्यापन सुरु भएको छ ।
विश्वकै महँगो र धेरैको रोजाइमा पर्ने ‘माउन्टेन टुरिजम‘ का लागि यी कोर्स उपयोगी मानिन्छन् । त्यति मात्र होइन, उनले नेपालमै पहिलोपटक स्की तालिमलाई पनि भित्र्याइन् । हिउँमा खेलिने खेलको सम्भावना नेपालमा पनि पर्याप्त देखिएकाले धेरै प्रयासबीच तालिम आयोजना गरिएको उनको भनाइ छ ।
पर्वतीय प्रशिक्षण प्रतिष्ठान विकास समितिमा १२ वर्षसम्म कार्यकारी निर्देशक भइसकेकी शेर्पाको योगदानलाई कदर गर्दै यसअघिको सरकारले अध्ययक्षमा नियुक्त गरेको थियो । लामो समयसम्म यसै क्षेत्रमा बिताएको र महत्वपूर्ण काम गरेको भन्दै अध्यक्षको जिम्मेवारी पाएकी शेर्पालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले सुटुक्क बर्खास्त गरेका छन् ।
बुबाको निधनपछि गाउँमा गएका बेला एकपटक पनि स्पष्टीकरण नसोधी बर्खास्त गरेको भन्दै असन्तुष्टि जनाएकी छिन् । उनले अहिले सर्वोच्च अदालतमा समेत पुनः नियुक्त गरी पाऊँ भनी रिट दायरसमेत गरेकी छिन् ।
मन्त्री आलेले गरेको निर्णयमा एकै दिन टिप्पणी उठाएर सोही दिन कारबाही गरेको पाइन्छ । सामान्यतया बर्खास्तीका लागि तीनपटकसम्म स्पष्टीकरण सोधिने गरिन्छ । तर, मन्त्रालयले एकपटक पनि स्पष्टीकरण नसोधी एकैपटक टिप्पणी र आदेश उठाएको पाइएको छ ।
चैत २४ गते अध्यक्ष शेर्पासहित कार्यकारी निर्देशक रोमनाथ ज्ञवाली र सदस्यहरु छिरिङ जाङ्बु शेर्पा, पूर्णकुमार शेर्पा र टीकाराम गुरुङलगायतका सदस्यहरुले विकास समितिको कानुनविपरीत कामकारबाही गरेको र सम्पूर्ण पदाधिकारीहरुको कार्यसम्पादन सन्तोषजनक नरहेको भनी गुनासो आउने गरेकाले कारबाही हुनुपर्ने देखिएको टिप्पणी एउटै माइन्युटमा उठाइएको छ ।
सोही माइन्युटमा माथि उल्लेखित व्यहोराबमोजिम अध्यक्षलगायत पदाधिकारीहरुलाई कारबाही गरी अध्यक्ष पदमा नियुक्तिका लागि मकालु ७ संखुवासभाका उङदी शेर्पा, कार्यकारी निर्देशकमा रुद्रप्रसाद चापागार्इं र सदस्यहरुमा संखुवासभाकै मकालु ५ निवासी निमा दोर्जी शेर्पा, मिङ्मादोर्ची शेर्पा र संखुवासभा घर भई हाल बूढानीलकण्ठ १ निवासी निमा टी शेर्पालाई नियुक्तिका लागि मन्त्री आलेबाट तोक आदेश प्राप्त भएकोले नियुक्त गरिएको उल्लेख छ ।
साथै यसअघिका पदाधिकारीहरुलाई समेत कारबाही गरिएको व्यहोरासमेत टिप्पणीमा उल्लेख छ ।
एकाघरका दुई सदस्य
मन्त्री आलेले नियुक्त गरेका सदस्यहरु एकाघरकै दुई सदस्य रहेका छन् । संखुवासभा मकालु ५ निवासी निमा दोर्जी शेर्पा र मिङ्मादोर्ची शेर्पा काका भतिजा हुन् । यस्तै अध्यक्ष उङदी पनि आफन्त नै हुन् ।