काठमाडौं । साताको पहिलो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । कारोबारको सुरुमा बढ्ने संकेत देखाएका सूचकले निरन्तरता भने दिन सकेन र अन्तिममा १२.९२ अंकले घटेर २०६५.७८ अंकमा रोकिएको छ ।
यद्यपि, कारोबारको पहिलो एक घण्टामै सूचक २०५४.१३ बिन्दूसम्म झरेको थियो भने २०९३.९५ बिन्दूसम्म चढेको थियो । त्यसपछि पनि बीच-बीचमा बढ्ने घट्ने प्रतिस्पर्धा कायम रहँदा अन्तिम समयमा सम्हालिँदै बजार बन्द भएको छ ।
सोमबार बैंकिङ समूह र जीवन बिमा समूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ । १३ उपसमूहमध्ये ७ उपसमूह नकारात्मक भएको दिन जीवन बिमा समूह २.०१ र बैंकिङ १.३२ प्रतिशतले घटेको छ भने अन्य समूहहरु शून्य दशमलव ५८ प्रतिशत भन्दा कमले घटेका छन् । यद्यपि, सोमबार विकास बैंक, वित्त, उत्पादनमुलक तथा प्रशोधन, अन्य, लघुवित्त र म्युचुअल फन्ड भने सामान्य बढेका छन् ।
सोमबार ९७ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा सबैभन्दा बढी मर्जर भाँडिएपछि कारोबार खुलेको हिमालयन बैंकको नकारात्मक सर्किट लागेर कारोबार भएको छ । यसअघि हिमालयसँग मर्ज भाँडिएको अर्को बैंक नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर मूल्य पनि २ दिन लगातार नकारात्मक सर्किट लाग्नुका साथै केही दिन मूल्य घटेर कारोबार भएको थियो ।
यता इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयरमा पनि नकारात्मक सर्किट लागेको छ । उता बढ्ने कोसिस गरिरहेका ८७ कम्पनीको सेयर मूल्यमध्ये सबैभन्दा बढी उपकार लघुवित्तको सकारात्मक सर्किट लाग्दा बलेफी हाइड्रोपावरको ९.९६ प्रतिशतले बढेको छ । समग्रतामा सोमबारको कारोबार प्रवृत्ति, अर्थतन्त्रमा अझै सुधार नदेखिएको र मौद्रिक नीति कस्तो आउला भन्ने अपेक्षाले बजार अझै सकारात्मक हुने देखिँदैन । यद्यपि, मंगलबारको कारोबारमा सुरुमा केही बढ्ने संकेत देखाउन भने सक्छ ।
तर, तत्कालै ठूलो उचाइ लिने अवस्था छैन । सोमबार कारोबार रकम शुक्रबारकै हाराहारी देखिन्छ । शुक्रबार १ अर्ब २८ करोड कारोबार भएकोमा सोमबार १ अर्ब २७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यसदिन एसियन लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी ८ करोड २४ लाखको सेयर किनबेच भएको छ ।