काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको असहमतिपछि एकीकृत समाजवादीका ४ जना मन्त्रीहरूको पद तत्कालका लागि जोगिएको छ ।
पार्टीले आइतबार नै आफ्नो तर्फबाट सरकारमा सहभागी भएका पाँचै जना मन्त्रीहरुलाई फिर्ता बोलाउने र नयाँ पठाउने निर्णय गरे पनि प्रधानमन्त्री देउवाले असहमति जनाएपछि तत्कालका लागि उनीहरूको पद जोगिएको हो ।
साेमबार दिउँसो प्रधानमन्त्री निवास वालुवाटारमा भएको सत्ता गठबन्धनको बैठकमा तत्कालै मन्त्रिपरिषद् हेरफेर नगर्ने सहमति जुटाएका थिए ।
गठबन्धनमा भएको सहमतिपछि शपथ लिन तयार भएका नेताहरू अलपत्रमा परेका छन् । समाजवादीले संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी खापुङलाई फिर्ता बोलाउने निर्णय गरेकाे थियाे ।
पार्टीले उनीहरूको ठाउँमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा जीवनराम श्रेष्ठ, सहरी विकासमन्त्री मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।