काठमाडौं । गण्डकी प्रदेशमा साना र ठूला गरी ४६ जलविद्युत् आयोजनाहरुबाट ५९३ मेगावाट बिजुली उत्पादन भइरहेको छ । प्रदेशमा हाल ३६ जलविद्युत् आयोजना निर्माणाधिन अवस्थामा छन् । ती आयोजनाहरुको कुल उत्पादन क्षमता ७३७ मेगावाट रहेको छ ।
गण्डकी प्रदेशमा आर्थिक रुपले १२ हजार ९३० मेगावाट बिजुली उत्पादन गर्न सक्ने सम्भावना रहेको भएता पनि हालसम्म ५९३ मेगावाट मात्र जलविद्युत उत्पादन भएको छ ।
नेपालमा हालसम्म सम्पन्न र राष्ट्रिय प्रसारण लाइनमा जडित जलविद्युत २१०६ मेगावाट मध्ये २८.२ प्रतिशत योगदान गण्डकी प्रदेशको रहेको छ । यस प्रदेशमा विद्युत् प्राधिकरणले सञ्चालन गरेको ११ विद्युत् परियोजनाको कुल जडित क्षमाता ३०३ मेगावाट रहेको छ ।
यसमध्ये स्याङजामा कालीगण्डकी ए परियोजनाको १४४ मेगावाट, लमजुङमा मर्स्याङ्दी र मध्य मस्र्याङदी गरी १३९ मेगावाट र पर्वत जिल्लामा १४.८ मेगावाटको मोदी जलविद्युत् परियोजना प्रमुख रहेको छ । यस वाहेक गोरखा जिल्लामा १२०० मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको लागि मुआब्जा वितरणको कार्य अघि बढेको छ ।
त्यसैगरी, सरकारी–निजी साझेदारी मार्फत हाल सञ्चालनमा रहेका ३५ परियोजनाहरुको कुल जडित क्षमता २९० मेगावाट रहेको छ । अर्कोतर्फ, निजी साझेदारीमा ७३८ मेगावाट जडित क्षमता रहेको ३६ जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा छन् । यसको अतिरिक्त ७९० मेगावाट उत्पादन क्षमताका ३० परियोजना दर्ता भई वित्तीय साधन जुटाउने क्रममा छन् ।
समग्रमा नेपाल विद्युत्त् प्राधिकरण र गण्डकी प्रदेशका विभिन्न आयोजनाहरुबाट प्राप्त विवरण अनुसार यस प्रदेशमा हाल उत्पादन भइरहेका, निर्माणाधिन अवस्थामा रहेका, दर्ता भई निर्माण गर्ने प्रकृयामा रहेका साना—ठूला जलविद्युत् आयोजना गरी ११३ परियोजनाबाट ३३२० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना देखिएको छ ।
गण्डकी प्रदेशका ११ जिल्लाहरुमध्ये जलविद्युत उत्पादनको बढी सम्भावना भएका जिल्लाहरुमा गोरखामा १३३८, लमजुङ ५४३ मेगावाट, म्याग्दी ४७८ मेगावाट र कास्की ३२० मेगावाट रहेका छन् ।