काठमाडौं । चालू आर्थिक वर्ष ०७८/०७९ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा उद्योग क्षेत्रको हिस्सा बढेको छ । चालू आर्थिक वर्षमा बढेर १८.४ प्रतिशत रहने प्रारम्भिक अनुमान छ । गत वर्ष यस्तो हिस्सा १७.७ प्रतिशत रहेको थियो ।
यस प्रदेशमा साना र मझौला उद्योगहरुको बाहुल्यता रहेको छ । प्रदेशमा सञ्चिालित साना र मझौला गरी १३ हजार १८४ उद्योगमा ५५ हजार १८२ व्यक्तिले रोजगारी पाएका छन् ।
नेपाल राष्ट्र बैंकले प्रदेशका प्रमुख उद्योगहरुको क्षमता उपयोग, रोजगारी, औद्योगिक कर्जा स्थिति एवम् औद्योगिक क्षेत्रका प्रमुख समस्या, चुनौती तथा सम्भावनाहरुको बारेमा विश्लेषण गरी यस्तो जानकारी गराएको हो ।
चालू आर्थिक वर्षको प्रथम ६ महिनामा यस प्रदेश अन्तर्गतका नमुना छनोटमा समेटिएका १४ उद्योगहरुको औसत क्षमता उपयोग गत वर्षको सोही अवधिको तुलनामा ४.८ प्रतिशत विन्दुले वृद्धि भई ४२.७ प्रतिशत पुगेको छ ।
यस प्रदेशमा चकलेट उद्योगको क्षमता उपयोग ८१.२, विस्कुटको ७३.९, वियरको ६३.६, लिक्विड औषधिको ५७.६, क्यापसुलको ५४.१, इटाभट्टाको ५३.८ र खाने तेल उद्योगको क्षमता उपयोग ५१.४ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । अन्य उद्योगहरुको औसत क्षमता उपयोग ५० प्रतिशतभन्दा कम छ ।
समीक्षा अवधिमा ड्राइ सिरप ६५, ट्याबलेट४६.७, वियर ४३.६, क्यापसुल ३२.३, सिमेन्ट २१.२ प्रतिशत रहेको छ । उत्पादन उद्योगहरुको उत्पादन उल्लेख्य रुपमा बढेको छ । तोरीको तेल, ओइन्टमेन्ट र चुरोटको उत्पादन सामान्य वृद्धि भएको छ ।
गत वर्षको तुलनामा यस वर्ष प्रशोधित दूध १०.१, बिस्कुट १.१, चकलेट २, चाउचाउ १७.८ र इट्टा २.१ प्रतिशत उत्पादन कम रहेको छ । बजारमा उक्त वस्तुहरुको प्रतिस्पर्धा बढी भई मागमा कमी आएका कारण उत्पादनमा कमी आएको हो ।
अर्कोतर्फ, गत वर्ष कोभिड महामारीका कारण चकलेट र बिस्कुट लगायतको खाद्य वस्तुको आयातमा कमी आएकोले आन्तरिक उत्पादन प्रोत्साहित भएको थियो । योवर्ष उक्त वस्तुहरुको आयातमा वृद्धि भएकाले स्वदेशी उद्योगको उत्पादनमा कमी आएको देखिएको छ ।
औद्योगिक कर्जा
२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित औद्योगिक कर्जा २०७८ असार मसान्तको तुलनामा १७.५ प्रतिशतले घटेर ५० अर्ब ९२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १.१ प्रतिशतले वृद्धि भएको थियो । कुल कर्जामा औद्योगिक क्षेत्रतर्फ प्रवाहित कर्जाको हिस्सा १४.५ प्रतिशत पुगेको छ ।
क्षेत्रगत औद्योगिक कर्जा स्थिति
२०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट औद्योगिक कर्जा शीर्षकमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी निर्माण उपशीर्षकमा २८ अर्ब (५४.९ प्रतिशत), गैर–खाद्य वस्तु उत्पादनसम्बन्धी उपशीर्षकमा १० अर्ब ४६ करोड (२०.५ प्रतिशत), कृषि वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उपशीर्षकमा ८ अर्ब २४ करोड (१६.२ प्रतिशत), धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक उत्पादनसम्बन्धी उपर्शीषकमा ३ अर्ब १४ करोड (६.२ प्रतिशत), विद्युत, ग्यास तथा पानी उत्पादनसम्बन्धी उपशीर्षकमा ७१ करोड (१.४ प्रतिशत) र खानीसम्बन्धी उत्पादनसम्बन्धी उपशीर्षकमा ३५ करोड रुपैयाँ (०.७ प्रतिशत) कर्जा लगानी रहेको छ ।