काठमाडौं । आवश्यक तयारीबिनै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साउन १ गतेदेखि अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने निर्णयको चौतर्फी विरोध सुरु भएको छ । यसअघि पनि पटकपटक यस्ता निर्णयहरु गरे पनि पूर्णरुपमा कार्यान्वयनमा नल्याएको र नेपालका लागि आवश्यक नरहेको भन्दै विभिन्न टीका–टिप्पणीसमेत हुन थालेको छ ।
इम्बोस्ड नम्बर प्लेट राख्ने निर्णयको सामाजिक सञ्जाल र समाचारमा चर्को आलोचना भएपछि विभागका महानिर्देशक नमराज घिमिरे मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देललाई भेट्न गएका छन् ।
‘अहिले चौतर्फी भइरहेको विरोधका विषयमा जानकारी गराउनका लागि म मन्त्रालयका सचिव भेट्न जाँदैछु’, महानिर्देशक घिमिरेले भने, ‘सर्वसाधारणले हाम्रो विषय बुझ्नुभएनजस्तो लाग्छ ।’
इम्बोस्ड नम्बर प्लेट राख्ने विषय नयाँ नभएको र विरोध गर्नुपर्ने कुनै कारण नभएकाले यस विषयमा प्रष्ट पार्नका लागि विभागले मंगलबार पत्रकार सम्मेलन आयोजना गर्ने तयारीसमेत गरिएको उनले बताए ।
‘हाम्रो कुनै नराम्रो नियत छैन’, महानिर्देशक घिमिरेले भने, ‘यो विषयका सबैलाई बुझाउन पत्रकार भेटघाटको कार्यक्रम गर्दैछौं ।’
विभागले केही दिनअघि सूचना जारी गर्दै सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची–२, भाग–२ र सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ को नियम ४ को उपनियम (४) मा रहेको प्रावधान कार्यान्वयन गर्न नामाकरण भइसकेका प्रदेशमातहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारीहरुमा चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्नका लागि २०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको थियो ।
साथै विभागबाट बागमती प्रदेशको एकान्तकुना, गुर्जुधारा र गण्डकी प्रदेशको पोखरा कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवश्यक पूर्वाधारसमेत तयार गरी ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडानसम्बन्धी संघीय कानुनबमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएकोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले प्रचलित ऐन तथा नियममा भएकोे व्यवस्थाबमोजिम सवारीहरुमा अबिलम्ब इम्बोस्ड प्लेट जडान गर्न गराउन बागमती प्रदेशअन्तर्गत व्यवस्था कार्यालय (साना ठूला सवारी), एकान्तकुना, ललितपुर र यातायात व्यवस्था कार्यालय (मोटरसाइकल), गुर्जुधारा, काठमाडौं र गण्डकी प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालय (सवारी) पोखरा, कास्की र ती कार्यालयमा दर्ता भएका सबै सवारीहरुका सवारीधनीहरुलाई आग्रह गरेको छ ।
ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेटसम्बन्धी व्यवस्था कार्यन्वयन भए नभएको सम्बन्धमा साउन १ गतेदेखि ट्राफिक प्रहरीबाट सडक अनुगमन गरिने र तोकिएअनुसार इम्बोस्ड प्लेट जडान नगरिएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम कारबही गर्नेसमेतको चेतावनी विभागले दिएको छ ।