काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा प्रेम आलेको प्रवेशसँगै पर्यटन क्षेत्रमा केही तरंग हुने आशा धेरैले गरेका थिए । यसअघि वन तथा वातावरण मन्त्रालयमा रहँदा विवादस्पद अभिव्यक्ति दिएर चर्चामा आएका मन्त्री आलेले पर्यटन क्षेत्रमा नयाँ काम गर्ने आशा धेरैले गरेका थिए ।
२०७८ असोज २२ गते पर्यटनमन्त्रीको रुपमा आले नियुक्त भएका थिए । अहिले उनको पार्टी एकीकृत समाजवादीले हाल सरकारमा भएका सबै मन्त्रीहलाई फिर्ता बोलाएर नयाँ पठाउने निर्णय गरिसकेको छ ।
खास गरी संसदको लेखा समितिमा रहँदा नेपाल एयरलाइन्समा भएका कमिकमजोरीको विषयमा चर्को आलोचना गर्ने व्यक्ति नै पर्यटन मन्त्रीको रुपमा आएपछि सुधारका आशा राख्नु स्वभाविक नै थियो । कोभिडका कारण धरासायी बनेको पर्यटन क्षेत्र र आन्तरिक कारणले नै धरासायी भएको एयरलाइन्स सुधारको आशा गरेकाहरुलाई उनका धेरै निर्णयहरुले निरास बनाए ।
लामो समयदेखि नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा लैजानु पर्ने विज्ञहरुको सुझावलाई लत्याउँदै कम्पनी मोडलको च्याप्टर नै क्लोज गराइदिए । विशेष गरेर एयरलाइन्सका ट्रेड युनियनका पदाधिकारीहरु सँगको मिलेमतोमा एयरलाइन्सलाई कम्पनी मोडलमा लैजाने निर्णय खारेज गरे ।
पर्यटन मन्त्रालय मातहतको सबैभन्दा ध्वस्त भएको नेपाल वायुसेवा निगमको सुधारमा उनले सिन्को समेत भाच्न सकेनन् । धेरैले आशा र अपेक्षा गरिएको निगम सुधारमा मन्त्री आलेले एक चिम्टी पनि प्रयास गरेको देखिएन । उल्टै नियुक्ती र बर्खास्ती साथै कर्मचारी भर्नाको अखेडाको रुपमा निगमलाई अगाडी सारे । निगमको जहाज घाममा नसुकाउने बाँचा पनि पुरा गर्न सकेनन भने नियुक्तीलाई विवादरहित बनाउन पनि सकेनन् ।
मन्त्री आलेकै रोजाईमा कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरिएका युवराज अधिकारीलाई अन्तिममा दुव्यवहार गरेर निलम्बन गरे। आफ्नै कार्यकक्षमा बोलाएर गालिगलोज गरि बर्खास्त गरे । जुन निगमको इतिहासमै पहिलो घटना थियो । त्यस अघिको महाप्रवन्धक डिमप्रकाश पौडेललाई निगमलाई कम्पनी मोडलमा लैजाने प्रयास गरेको अभियोगमा बर्खास्ती गरियो ।
अहिले फेरि निगमकै क्याप्टेन दिपु ज्वारचनलाई महाप्रबन्धकको जिम्मेवारी दिइएको छ । सम्भवत,अव आउने नयाँ मन्त्रीले उनलाई पूर्ण अधिकारी दिन्छ वा उनि पनि केहि दिनमा हट्छ्न भन्ने एकिन छैनन् । निगममा पर्यटन मन्त्री फेरिएलगत्तै नेतृत्व पनि परिवर्तन हुने परम्परा कायम छ ।
नेपाल एयरलाइन्सको आन्तरिक र बाह्य उडान गर्नका लागि जहाज थप्ने योजनासमेत उनले सुनाए । तर, कार्यान्वयन गर्न सकेनन् । चिनियाँ जहाज नचलाउने गरी गरेको निर्णय उल्टाएर सञ्चालन गर्ने निर्णय गराए पनि अन्ततः हालसम्म चलाउन सकेका छैनन् । जसको कारण न त ती चिनियाँ जहाज बिक्री वा भाडामा दिन सके नत चलाउननै सके ।
प्राधिकरणमा हस्तक्षेप योसँगै हवाई क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा पनि उनको हस्तक्षेप विवादस्पद रह्यो ।
खास गरी प्राधिकरणको महानिर्देशक नियुक्तीमा १२ औं तहका ५ जनालाई छेकेर ११ औं तहका उपनिर्देशकको रुपमा रहेका इन्जिनियर प्रदीप अधिकारीलाई नियुक्ति गरेको विषय पनि विवाद रहित रहन सकेन् । प्राधिकरणको इतिहासमै ११ औं तहका कर्मचारीलाई महानिर्देशक बनाएको पहिलो घटना हो । जुन घटनाले प्राधिकरणभित्र निकै हलचल मच्चिएको थियो । मन्त्री आलेको स्वार्थका कारण ११ औं तहका कर्मचारीलाई महानिर्देशक बनाएपछि १२ औं तहका कर्मचारीहरु निरिह भएर काम गरिरहेका छन् ।
पर्यटन बोर्डमा पनि हस्तक्षेप
व्यक्तिगत स्वार्थपूर्तिकै लागि मन्त्री आलेले पर्यटन मन्त्रालय माताहतका विभिन्न विभागहरुमा नाङ्गो हस्तक्षेप बढाए । जसको कारण पर्यटन बोर्ड अस्थिर बन्यो । प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीलाई बर्खास्ती गरेपछि अदालतबाट अन्तरिम आदेश लिएर बोर्डमा फर्किए पनि पर्यटन मन्त्रालयसँग कुनै समन्वय गर्न दिएनन् । अर्थात मन्त्रालयका अधिकाश कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृतलाई बाहेष्ट गरे ।
पर्यटन क्षेत्रको नीति तथा कार्यक्रमहरु र निजी क्षेत्रको समस्या समधान गर्नका लागि सरकारसँग सहकार्य गर्ने बोर्डनै अस्थिर भएपछि बजेटमा पनि पर्यटनको लागि खास नयाँ कार्यक्रम आएन । बरु उल्टै पर्यटन मन्त्रालयलमा पर्यटन क्षेत्रको सुधारका लागि भन्दै छुट्टै कार्यदल गठन गरे । जुन कार्यदलले कुनै पनि काम गर्न सकेनन् ।
स्टण्ड मन्त्रीको उपाधि पाए, कार्यान्वयन गरेनन्
नारायणहिटी दरबारभित्र बतास समूहले सञ्चालन गर्न लागेको कफि सप भत्काउनेदेखि गौशलामा सञ्चालनमा रहेको होटल आनन्द बन्द गराउन मन्त्री आले आफैं अघि सरेका थिए । जसको कारण उनलाई स्टण्ड मन्त्रीको उपाधि दिए । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेका कर्मचारीहरुलाई थर्काएको भिडियो पनि भाइरल भएको थियो ।
तर,जति उनले सस्तो लोकप्रियताका लागि स्टण्डबाजी देखाए त्यो अनुसारको काम हुन सकेन । त्यसैले उनको यो ८ महिनाको कार्यकाल सम्झना लायक हुन नसकेको पर्यटन व्यवसायीहरुको भनाई छ । तालुकदार मन्त्रीबाट धेरै आशा गरिए पनि उनका विभिन्न निर्णय र हर्कतका कारण उल्टै डराउनु पर्ने अवस्थामा आइपुगेको ती व्यवसायीको टिप्पनी छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा
मन्त्री आलेको पालामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बैकल्पीकको रुपमा हेरिएको गौतमबुद्ध सञ्चालनमा आए पनि व्यावसायिक रुपमा त्यति सफल भने हुन सकेको छैन । सो विमानस्थलबाट हाल जजिरा एयरले मात्र उडान गरिरहेको छ ।
निजगढमा सर्वोच्चको हस्तक्षेप
लामो समयदेखि चर्चामा रहँदै आएको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल हालको ठाउँमा नबनाउन सर्वोच्च अदालतले परमादेश दिएको छ । यदपी,निर्णयको पूर्ण पाठ भने आइसकेको छैन । सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि हालसम्म सो विमानस्थलमा लगानीको मोडल समेत टुंगिन सकेको थिएन ।