एजेन्सी । भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार तीन सय ४१ वटा गाडी बिक्री गरेको छ । योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोस्रो स्थानमा परेको छ ।
कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो ।
यसभन्दा अघि भारतीय बजारमा टाटा मोटर्सको तुलनामा दक्षिण कोरियाली कम्पनी हुन्डाई मोटरले बढी गाडी बिक्री गरेकको थियो । तर सन् २०२२ को मेमा हुन्डाई मोटर्सले भारतमा जम्मा ४२ हजार दुई सय ९३ वटा गाडी बिक्री गरेको थियो । यो भनेको टाटा मोटर्सको तुलनामा एक हजार ४८ वटा गाडी कम हो । त्यसैले, सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये हुन्डाइको स्थान घटेर तेस्रो स्थानमा पुगेको छ ।
गत महिना मर्मत सम्भारका लागि हुन्डाइको उत्पादन क्षेत्र ६ दिनका लागि बन्द गरिएको थियो । त्यसकारण पनि कम्पनीको बिक्रीमा असर देखिएको हुन्डाइले बताएको छ । तर, सन् २०२१ को मेको तुलनामा यसपटक कम्पनीले १७ हजार २९२ वटा बढी गाडी बिक्री गरेको हो । सन् २०२१ को मेमा कम्पनीले जम्मा २५ हजार १ वटा गाडी बिक्री गरेको थियो।
विगत ६ महिनामा यो दोस्रोपटक हो, कि हुन्डाइको बिक्रीदरका हिसाबले कम्पनी तेस्रो स्थानमा पर्न गयो । यसअघि कम्पनी सन् २०२१ को डिसेम्बरमा तेस्रो स्थानमा झरेको थियो ।
भारतीय बजारमा हुन्डाइको प्रदर्शनी खस्किँदै जाँदा टाटाले भने आफूलाई कडा प्रतिस्पर्धी बनाउँदैछ । सन् २०२२ को अप्रिलमा मात्रै कम्पनीले भारतीय र बाह्य बजारमा गरी ७४ हजार ७५५ वटा गाडी बिक्री गरेको छ ।
सन् २०२१ को मेमा यो संख्या जम्मा २४ हजार ५५२ थियो ।
टाटा मोटर्सपछि भारतीय बजारमा सर्वाधिक बिक्री गर्ने कम्पनीमा महिन्द्रा एन्ड महिन्द्रा रहेको छ । सन् २०२२ को मेमा सबैभन्दा धेरै गाडी बिक्री गर्नेमध्ये महिन्द्रा एन्ड महिन्द्रा चौथो स्थानमा रहेको छ । कम्पनीले सन् २०२२ को मेमा २६ हजार ९०४ वटा गाडी बिक्री गरेको हो । महिन्द्राको एक्सयुभी ७०० र थारको माग राम्रो रहेको कम्पनीको भनाइ छ ।
किया इन्डियाले यसपटक आफ्नो बिक्रीदर ६९ प्रतिशतले बढाएर कुल १८ हजार ७१८ वटा गाडी बिक्री गरेको छ । यसपछि टोयोटाले सन् २०२२ को मेमा मात्रै १० हजार २१६ वटा गाडी बिक्री गरेको छ । सन् २०२१ को मेमा कम्पनीले जम्मा ७०७ वटा गाडी बिक्री गरेको थियो ।
भारतमा सबैभन्दा धेरै गाडी बिक्री गर्ने कम्पनी भने मारुती सुजुकी इन्डिया हो । कम्पनीले सन् २०२२ को मेमा मात्रै आन्तरिक अर्थात् भारतीय बजार र बाह्य बजारमा गरी कुल १ लाख ६१ हजार ४१३ वटा गाडी बिक्री गरेको छ ।
सन् २०२१ को मेमा भने कम्पनीले ४६ हजार ५५५ वटा गाडी बिक्री गरेको थियो ।
भारतीय बजारमा मात्रै कम्पनीले सन् २०२२ मेमा एक लाख ३४ हजार २२२ वटा गाडी बिक्री गरेको हो । सन् २०२१ को मेमा भने कम्पनीले जम्मा ३५ हजार २९३ वटा गाडी बिक्री गरेको थियो ।