२०६२ साल । चैत महिना । देशमा २३७ वर्षे राजतन्त्रविरूद्ध असन्तुष्टिको आवाज चर्को हुँदै थियो । १० वर्ष सशस्त्र युद्ध गरेको माओवादी पनि शान्ति वार्तामा आइसकेको थियो । माओवादीसहित जनताहरु सडकमा खरो उत्रिरहेका थिए ।
तर, यही महिना प्रकाश पौडेल ‘माइला’ भने जापान उडे ।
चितवन स्थायी घर भएका पौडेल भर्खरै बीबीएस पास गरी यसै बसिरहेका थिए । साहित्यमा रूचि थियो । साहित्यकै एउटा लोकप्रिया विधा हाइकु लेख्थे । यस बीचमा काठमाडौं आए । साथीभाइहरुको संगत हुँदै गयो । संगतकै क्रममा थाहा पाए, जापान गएर जापानिज भाषा सिक्न पाइन्छ ।
खासमा उनलाई साकुरा, सूर्योदय र हाइकुको देश भनेर चिनिने जापान जाने रहर थियो । साथीभाइहरुको संगतले यसलाई थप मलजल गरिदियो । र, सपना देख्न थाले उतैको ।
त्यति बेला पौडेल जापान जाने एक्ला मान्छे होइनन् । उनीसहित २५ जनाको समूह थियो । अहिले खोज्दा नभेटिने बागबजारको साँघुरो गल्लीभित्रको कुनै एउटा जीर्ण इन्स्टिच्युटमा आधारभूत भाषा पढे । अनि एउटै जहाज चढेर सबै सँगै जापान उडे । सँगै गएका साथीहरु उता गएर कलेज र क्लासमा पनि सँगसँगै भए ।
‘त्यति बेला अहिलेका जस्ता छ्याप्छयाप्ती इन्स्टिच्युट पनि थिएनन्’, आफू जाँदा ताकाको समय सम्झन्छन् पौडेल, ‘जापान जाने पनि एकदमै कम हुन्थे । म त्यही कममध्येको एक हुँ ।’
उनी पढ्न गएको कलेज योकोहामा सहरमा थियो । नाम, योकोहामा डिजाइन कलेज । अध्ययन गर्न जाने भने पनि जापानमा अनिवार्य रुपमा २ वर्ष जति भाषा पढ्नैपर्छ । उनले पनि पढे । त्यसपछि नजिकैको अर्को कलेजमा थप २ वर्षे कोर्स गरे ।
यसरी परदेशमा उनले विद्यार्थीकालीन ४ वर्ष गुजारे ।
अध्ययन गर्न जाने उद्देश्यसँगै जोडिएर आउने कुरा हो, पैसा कमाउनु । तर, सधैं विद्यार्थी भएर टिक्न सम्भव थिएन । एकातिर कलेजका आफ्नै नियम, अर्कोतिर काम गर्न सरकारले तोकिदिएको निश्चित समय । यसरी चल्छजस्तो उनलाई लागेन । चले पनि ‘चल्छ मात्रै’ भन्ने लागेपछि यसबारे धेरै सोचे ।
‘जापानमा टिक्नका लागि के गर्ने ?’, उनी सुनाउँछन्, ‘बाटो खोज्दै गर्दा त्यहाँ पनि साथीभाइसँग छलफल भयो । आएका पुराना साथीभाइले के गरिराखेका छन् भनेर सोधीखोजी गरे“ । यही बीचमा रेस्टुरेन्ट गरेका साथीसँग भेट भयोे । र, एकखालको मनस्थिति पनि बन्यो ।’
विद्यार्थी भिजामा पढ्न गएका पौडेल अब रेस्टुरेन्ट गर्ने निर्णयमा पुगे । तर, कसरी गर्ने ? उनले पुनः चिनजानका साथीहरुसँग सल्लाह गरे । सुझाव लिए । सरकारी एवं प्रशासनिक विधि र प्रक्रियाबारे बुझे । सबभन्दा ठूलो त उनले आँट नै गरे ।
यसरी उनी रेस्टुेन्ट व्यवसायमा प्रवेश गरे ।
‘व्यवसाय गरौं भन्ने हो भने अरु देशको तुलनामा जापानमा सजिलो छ’, आफ्ना अनुभव सुनाउँछन् पौडेल, ‘प्रक्रियाका हिसाबले नेपालको जस्तो जटिल छैन । विधि र प्रक्रिया पुगेपछि सबै समान हकदार हुन्छन् ।’
सन् २००६ (२०६२, चैत) मा गएका पौडेलले ०९ को अन्तिमतिर आफू बसेकै सहर योकोहामामा पहिलो रेस्टुरेन्ट खोले ।
नाम दिए, पूर्णिमा रेस्टुरेन्ट ।
सुरूको केही समय उनलाई गाह्रै भयो । नहोस् पनि कसरी ! न उनले होटल म्यानेजमेन्ट पढेका थिए, न व्यवसायमा त्यति रूचि थियो ।
‘सुरूमा आइडिया पनि भएन । रेस्टुरेन्टको लाइन पनि होइन मेरो’, सुरूवाती संघर्षका दिन सम्झन्दै भावुक बन्छन्, ‘व्यवसाय गर्ने सोच बनाएर जापान गएको पनि होइन । केही परिबन्ध र २/४ महिनाको साथीभाइको संगतले मुड चल्यो अनि सुरू गरें ।’
त्यहाँको व्यवसाय गर्ने प्रक्रिया झन्झटरहित भए पनि पहिलो आवश्यकता भनेको पैसा हो । दैनिक जीविकोपार्जनदेखि उद्यम गर्ने हरेक क्षेत्रमा पैसा अनिवार्य सर्त हो । उनकै शब्दमा भन्दा त्यहाँ व्यवसाय गर्न कम्तीमा ५० लाख जापानिज येन (नेपाली पनि सोहीबराबर) खातामा भएको हुनुपर्छ । उक्त रकम देखाएपछि स्टुडेन्ट वा वर्किङबाट सीधै बिजनेस भिजा चेन्ज गर्न सकिन्छ । पौडेलले पनि यही गरे । उनी त पढ्न गएका थिए । यति ठूलो रकम कसरी जुटाए ?
उनीसँग पैसा हुँदै नभएको चाहिँ होइन । अलिअलि त काम गर्दै जम्मा गरिराखेका थिए । तर, जति थियो त्यो अपुग थियो । रेस्टुरेन्ट गर्ने भनेर आँट गरेपछि पछि हट्ने कुरा पनि भएन । नेपालबाट पैसा लैजाऊँ भने पनि वैधानिक रुपमा ठूलो अमाउन्ट त्यहाँ लैजान समस्या थियो । तर, भनिन्छ नि– समस्यासँगै उपाय पनि सँगसँगै हुन्छ । उनले पनि उपाय भेटे । विभिन्न माध्यम प्रयोग गरी अलिकति पैसा नेपालबाट लगे । बाँकी साथीभाइसँग सरसापट गरे । यसरी उनको व्यवसायको जग बस्यो ।
पौडेल उल्लिखित कुराकै पुनरावृत्ति गर्छन्– ‘सुरूवातमा गाह्रै भयो ।’ उनका अुनसार भाषा जानेर मात्रै व्यवसाय हुँदो रहेनछ । त्यसका लागि सीप र कला महत्वूर्ण कुरा रहेछ । यसरी झन्डै २ वर्ष त उनलाई रेस्टुरेन्ट व्यवसायबारे सिक्न/बुझ्नमै लाग्यो ।
समय बित्दै गयो । ऋतुहरु फेरिए । साकुरा पनि आफ्नो समयमा फुल्यो र सकियो । फेरि फुल्यो, फेरि सकियो । क्रमागत रुपमा पौडेलले पनि बितिसकेको समयबाट पाठ सिक्दै गए । व्यवसायबारे बुझ्दै गए । यता ‘मुड’ मा सुरू गरेको व्यवसायले पनि गति लिँदै गयो । नेपाली रेस्टुरेन्ट भनेर साथीभाइ, नेपाली कम्युनिटीबीच चिनिँदै गयो । र, यसले व्यवसायलाई पनि सफलताको सिँढीतर्फ डोर्यायो ।
पूर्णिमा खोलेको ठीक ३ वर्षपछि उनले अर्को एउटा रेस्टुरेन्ट थपे । त्यसपछि पौडेलले पछाडि फर्केर हेर्नुपरेन । कुनै बेला जापानमा ‘टिक्न’ का लागि सुरू गरेको व्यवसाय यसरी टिक्यो कि झन्भन्दा झन् फैलिँदै गयो । यसबीचमा उनले थुप्रै रेस्टुरेन्ट चलाए । कति बेचे । थपघटको क्रम चलिरह्यो । हाल उनका ७ वटा रेस्टुरेन्ट सञ्चालनमा छन् ।
५० लाखकाे लगानीमा सुरू भएको कम्पनीकाे कुल पुँजी र आकार निकै ठूलो भइसकेको छ ।
समय धेरै परिवर्तन भइसकेको छ । उनी जाँदा त्यहाँ नेपाली कम्युनिटी ७/८ हजार मात्रै थिए । अहिले १ लाखभन्दा बढी छन् । यी नेपालीमध्ये झन्डै ४ हजार नेपाली रेस्टुरेन्ट सञ्चालन छन् । उनकै अनुसार एउटा मात्र रेस्टुरेन्ट हुने नेपाली कम छन् । अधिकांशका एकभन्दा बढी १०÷१२ सम्म छन् । यस्तै कतिले चेनको रुपमा पनि रेस्टुरेन्ट चलाइरहेका छन् ।
यसबीचमा विश्वव्यापी कोभिड–१९ महामारी आयो । यसले सुरूमा अलमल पार्यो उनलाई । त्यहाँको सरकारले अर्धसंकटकाल लगायो । विशेष गरी कोभिड नियन्त्रण गर्न जमघट हुने ठाउँलाई निरूत्साहित गर्यो । बिस्तारै खुलाउँदै पनि गयो । तर, त्यसमा सीमा तोक्यो । ‘एउटा रेस्टुरेन्टमा ग्रुपमा ४ जनाभन्दा बढी बस्न नपाउने, भित्र छिरेपछि २ घण्टामा निस्किसक्नुपर्ने नियम लगायो’, कोभिडको असर र नियन्त्रणमा त्यहाँको सरकारले के गर्यो भन्ने प्रश्नमा उनी सुनाउँछन्, ‘बेला–बेला रक्सी बेच्न पाने-नपाउने, कहिले बेच्नै ठप्प पार्ने नियम पनि लगायो ।’
पौडेलको बुझाइमा बाहिरका सरकार जनउत्तरदायी एवं व्यवसायीमैत्री हुन्छन् । जापान बसेकाले त्यहाँको सरकारप्रति उनको धारणा यही छ । त्यस्तो कोभिडका बेला पनि एक दिन रेस्टुरेन्टमा ताला लगाउन भनेन । यदि भनेको भए सरकारले अघिल्लो वर्षको बिजनेस रेकर्ड हेरी उचित क्षतिपूर्ति दिनुपर्ने हुन्थ्यो । बरू केही नियन्त्रण गरी व्यवसायको समय घटायो । र, त्यसबापतको क्षतिपूर्ति पनि दियो ।
‘नेपालमा पहिले त प्रक्रियामै अनेक झन्झट । यी झन्झन्ट पार गरेर पनि व्यसाय गर्न गाह्रो, गरे टिक्न गाह्रो’, उनी भन्छन्, ‘नेपाल सरकारले त कोभिडका बेला पनि एक पटक जनतालाई आफ्नै खर्चमा पीसीआर गर्न भनेको थियो । यही“बाट थाहा हुन्छ हाम्रो स्थिति ।’
कोभिडले विश्वको अर्थतन्त्र ठप्प हुँदा पौडेलले एउटा अचम्मको काम गरे । त्यो के भने, यसै बेला उनले रोयल रेस्टुरेन्ट र कफी सफ सुरू गरे ।
कोभिडले दुःख दिइरहेको र व्यापार-व्यवसाय सुस्ताएका बेला पनि उनले किन मोले त यस्तो जोखिम ?
‘मलाई केही साथीहरुले पनि यसबारे सोध्नुभएको थियो’, उनी कारण बताउँछन्, ‘जापानमा केही यस्ता ठाउँहरु पनि छन्, जहाँ सामान्य अवस्थामा हामीले प्रवेश नै पाउँदैनौं । जस्तो, व्यापारिक रुपमा ठूलो कारोबार हुने सपिङ मल, ठुल्ठूला भवन । मैले राम्रो ठाउँ पाएँ, यसकारण कोभिडलाई हेरिनँ । अहिले नचले पनि पछि चल्छ भन्ने लाग्यो । यसैले रिक्स लिएँ ।’
योकोहामा स्टेसननजिकै योदोबासी क्यामेरा भन्ने जापानकै ठूलो इलेक्ट्रिक मार्केट छ । त्यसैभित्र रेस्टुरेन्ट खोले । यसबाहेक कफी सप पनि यस्तै एउटा बिल्डिङभित्र छ ।
यसरी कोभिडकै क्रममा व्यवसाय थप्ने पौडेल एक्ला भने होइनन् । उनका केही साथी पनि यही मौकामा राम्राराम्रा ठाउँमा छिरे । अघिपछि सामान्य अवस्थामा विदेशीहरुले पनि सहजै प्रवेश पाउँदैनन् । एक हिसाबमा कोभिडले उनलाई एउटा सुन्दर अवसर दिलायो ।
जापानमा नेपाली रेस्टुरेन्ट भने पनि अधिकांश इन्डियन करी–नानमा केन्द्रित छन् । पौडेलका पनि धेरैजसो रेस्टुरेन्टको विशेषता यही हो । नेपाली–इन्डियन परिकार पस्कन्छन् । तर, पछिल्लो कोभिडकै क्रममा उनले एउटा विशुद्ध नेपाली खाना खान पाइने रेस्टुरेन्ट थपेका छन् । द रोयल नामक उक्त रेस्टुरेन्टमा दालभातदेखि जेरीपुरी र चटपटेसम्म खान पाइन्छ ।
जापानमा एकल स्वामित्वमा व्यवसाय सञ्चालन गरिरहेका पौडेलको नेपालमा पनि रेस्टुरेन्ट छ । बालुवाटारस्थित ‘उरूतोरा’ नामबाट सञ्चालित उक्त रेस्टुरेन्ट संयुक्त लगानीको हो ।
झन्डै २ दशक विदेशी भूमिमा गुजारिसकेका पौडेलको नेचर सधैं विदेश नै बसिरहने होइन । यो उनलाई उनका आफन्त र छिमेकीहरुले भनेको कुरा हो । यो कुरामा उनको विमति पनि छैन । उनले चाहेका भए जापानकै पासपोर्ट पनि बोक्न सक्थे । त्यो समय आज होइन, उहिल्यै आइसकेको हो । तर, उनीसँग अझै पनि नेपाली राहदानी नै छ । ‘मैले अवसर पाउँदा पनि पासपोर्ट चेन्ज गरिनँ’, यसबारे थप प्रस्ट्याउँछन्, ‘त्यसैले पनि ढिलोचाँडो नेपाल फर्कन्छु, फर्कन्छु ।’
त्यसो त पौडेल बाहिर जाने अन्य साथीहरुको तुलनामा आफैंप्रति गर्व गर्छन् । बाहिर भएर पनि नेपाली समाजसँग अपडेट भइरहने, वर्षमा २/३ पटक नेपाल आउने गरिरहन्छन् उनी । यसको एउटै कारण हो, भोलि बिदेसिएर विरानो हुन नपरोस् ।
जापानमा बसेर विगत १७ वर्षदेखि व्यवसाय र साहित्य साधना गर्दै आइरहेका पौडेलको अबको योजना भनेको बिस्तारै उताको तुलनामा लगानीलाई स्वदेशमै बढाउने छ । पर्यटनलगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्न साथीभाइसँग छलफल गरिरहेका छन् । सोहीअनुसार अध्ययन-अनुसन्धान पनि भइरहेको छ ।