काठमाडौं । आईफोन निर्माता कम्पनी एप्पलले एक्सआर १० सार्वजनिक गरेको एक वर्ष नबित्दै आईफोन ११ सिरिजका तीन ओटा फोन सार्वजनिक गर्यो– आईफोन ११, आईफोन ११ प्रो र आईफोन ११ प्रो म्याक्स ।
एप्पलले सार्वजनिक गरेको आईफोन ११ सिरिजको यो फोन उसले गत वर्ष सार्वजनिक गरेको आईफोन एक्सआरकै अपग्रेडेट फर्म हो । यी दुवै फोन हेर्दा उस्तै लाग्छन्, तर आईफोन एक्सआरलाई आईफोन ११ मा अपग्रेड गराउनका लागि एप्पलले यसमा दस ओटा नयाँ परिवर्तन ल्याएको छ ।
ग्राहकलाई फाइदाको कुरा के छ भने एप्पलले आईफोन ११ को सुरुआती बजारमूल्य आईफोन एक्सआरको तुलनामा ५० अमेरिकी डलरक कम कायम गरेको छ । गत वर्ष आईफोन एक्सआर सार्वजनिक हुँदा यसको मूल्य ७ सय ५० डलर थियो भने आईफोन ११ को ७ सय डलर मात्र तय गरिएको छ ।
त्यसो त अहिले अन्तर्राष्ट्रिय बजारमा आईफोन एक्सआरको बेस भेरियन्ट नेपालमा १ लाख ९ हजार ५ सय रुपैयाँमा पाउन सकिन्छ । तर, सय डलर मात्र थप गर्दा आईफोन ११ सिरिजको नयाँ अपग्रेडेड फिचरसहितको फोन प्राप्त गर्न सकिन्छ । विशेषगरी यस्ता सुधारहरु क्यामेरा, अपरेटिङ सिस्टममा गरिएको छ ।
यद्यपि, अहिलेको अवस्थामा एक्सआरमा आएको सय डलरको मूल्य गिरावटले ग्राहकहरु ११ सिरिजमा भएका सुविधा छोडेर एक्सआरको रोज्न पनि सक्छन् ।
यी दुई फोनका फिचरः
विभिन्न अन्तर्राष्ट्रिय ग्याजेट्स वेबसाइटहरुका अनुसार नयाँ सार्वजनिक आईफोन ११ को ब्याट्रीक्षमता आईफोन एक्सआरको भन्दा धेरै एमएएचको छ । एक्सआरको ब्याट्रीक्षमता २९४२ एमएएचको थियो भने कुनै वेबसाइटले नयाँ ११ को ब्याट्री ३१०० त कसैले ३२०० एमएएचको रहेको दाबी गरेका छन् ।
स्क्रिन साइज, रेज्युलेसन, तौल, डिजाइन, आकार सबै कुरा दुवै फोनमा समान छन् । वास्तवमा लुक्सका आधारमा यी दुवै उस्तै देखिन्छन् ।
खबरहरुका अनुसार नयाँ आईफोन ११ मा नयाँ ए १३ चिप प्रयोग भएको छ भने आईफोन एक्सआरमा ए १२ चिप प्रयोग भएको थियो । जीएसएम अरेना वेबसाइटका अनुसार एक्सआरमा तीन जीबी र्याम थियो भने नयाँ फोनमा चार जीबी छ ।
फेस आईडेन्टिफिकेसन सेन्सरको कुरा गर्दा आईफोन ११ मोडलमा एक्सआरको तुलनामा ३० प्रतिशत छिटो रहेको एप्पल कम्पनीको दाबी छ ।
आईफोन ११ मा एक्सआरको तुलनामा क्यामेरा फिचर निकै अपग्रेड गरिएको छ । एक्सआरमा १२ मेगापिक्सल्सको सिंगल लेन्स क्यामेरा थियो भने नयाँ ११ मा १२ मेगापिक्सल्सकै तर, डुअल लेन्स क्यामेरा सिस्टम छ । आईफोन ११ मा भएको अतिरिक्त लेन्स अल्ट्रा वाइड क्यामेरा हो जसले १२० डिग्रीको फिल्ड भ्यु दिन्छ । आईफोन ११ मा २ एक्स र ५ एक्स डिजिटल जुम छ भने एक्सआरमा ५ एक्स जुम मात्र छ ।
त्यसो त डिजिटल जुम नेचुरल अप्टिकल जुम जस्तो राम्रो भने हुँदैन । आईफोन ११ मा पोट्रेट मोडमा विभिन्न लाइटिङ इफेक्ट छन् जुन एक्सआरमा छैनन् । एप्पल कम्पनीका अनुसार आईफोन ११ मा फोटोका लागि नेक्स्ट जेनेरेसनको स्मार्ट एचडीआर छ । जब कि आईफोन एक्सआरको स्मार्ट एचडीआर त्यो स्तरको छैन ।
सेल्फी क्यामेराको कुरा गर्दा आईफोन एक्सआरमा ७ मेगापिक्सल्को सेल्फी क्यामेरा छ भने आईफोन ११ मा १२ मेगापिक्सल्सको सेल्फी क्यामेरा छ ।
ब्याक क्यामेरा सेटअपका लेन्समा फरक रहेका कारण, एक्सआर र ११ को भिडियो रेकर्डिङमा समानता हुँदाहुँदै पनि केही फरक छन् । आईफोन ११ मा बस्तुको आवाजलाई फोकस गर्नसक्ने अडियो जुम छ, जुन एक्सआरमा छैन । यस्तै आईफोन ११ मा फोरके रेज्यूलेसनका लागि स्टाब्लिजेसन छ, तर एक्सआरमा त्यो छैन ।
स्टोरेजको कुरा गर्दा दुवैमा ६४ जीबीदेखि १२८ जीबीसम्म स्टोरेज क्यापासिटी छ, तर तर ११ मा अतिरिक्त २५६ जीबी अप्सन छ ।
वाटर रेसिस्टेन्ट क्षमता आईफोन ११ मा एक्सआरको भन्दा केही धेरै छ । ११ मा आईपी ६८ (२ मिटर, ३० मिनेट) छ भने एक्सआरमा आईपी ६७ (१ मिटर, ३० मिनेट) छ ।
डेटा स्पिडको कुरा गर्दा आईफोन ११ मा फास्टर डेटाका लागि आईफोन एक्सआरभन्दा गिगाबाइट क्लास एलटीई छ । यसले वाईफाई ६ लाई पनि सपोर्ट गर्छ ।
एप्पल न्यु यू–१ चिपले पावर्ड गरेको एप्पल ११ मा सुधारिएको एयरड्रप फंक्सन छ ।
अपरेटिङ सिस्टम एक्सआरमा ओएस १२ छ, जुन अहिले ओएस १२.४ मा अपग्रेड गरिएको छ भने आईफोन ११ मा ओएस १३ राखिएको छ ।
यी फोन नेपालमा अक्टोबरको पहिलो हप्तासम्ममा आइपुग्ने नेपालका लागि एप्पल कम्पनीको आधिकारिक विक्रेता ओलिज स्टोरले बताएको छ । हालसम्म नेपाली बजारमा यसको मूल्य कति हुन्छ भन्ने कुरा स्पष्ट भएको छैन ।