काठमाडाैं । सिप्रदी ट्रेडिङ प्रालिका निर्देशक शम्भुप्रसाद दाहालले तेन्जिङ हिलारी एभरेष्ट म्याराथन ९ घन्टा २९ मिनेट १४ सेकेन्डमा पूरा गरेका छन्। ६१ वर्षीय निर्देशक दाहालले विश्वको सबैभन्दा अग्लो यो म्याराथन पार गरेका हुन्।
साे म्याराथन ५ हजार ३६४ मिटर उचाइमा रहेको एभरेष्ट बेस क्याम्पबाट सुरू भएको थियो। त्यहाँबाट ढुङ्ला पास, घरेपानी, डिंबोचे, लोबुचे पास, डिंबोचे, फिरेची पास, ताकबोचे हुँदै ३ हजार ४४० मिटर उचाइमा भएको नाम्चे बजारसम्मको दूरी छ। एभरेष्ट बेस क्याम्पदेखि नाम्चे बजारसम्मको कुल दूरी भने ४२.१९५ किलोमिटर रहेको छ। निर्देशक दाहालले यो दूरी ९ घन्टा २९ मिनेट १४ सेकेन्डमा पार गरेका हुन्।
हरेक वर्ष मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाइन्छ। सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको हारोहण गरेका थिए। अन्तर्राष्ट्रिय सगरमाथा दिवसको ६९ औं वार्षिकोत्सवमा निर्देशक दाहालले पनि तेन्जिङ हिलारी एभरेष्ट म्याराथन पूरा गरेका हुन्।
विगत तीन महिनामा निर्देशक दाहालले यो सहित तीनवटा म्याराथन गरेका छन्। तेन्जिङ हिलारी एभरेष्ट म्याराथन उनको तेश्रोे म्याराथन हो। यसभन्दा अघि निर्देशक दाहालले ४२.९ किलोमिटरको दूरीको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन र ४९ किलोमिटरको दूरी रहेको तेस्राे जुम्ला रारा अल्ट्रा म्याराथनमा पूरा गरेका थिए।
म्याराथनमा सहभागी हुन पाउँदा शारीरिक तथा मानसिक हिसाबले स्वस्थ भएको निर्देशक दाहाल बताउँछन्। ‘भर्खरै म सगरमाथा म्याराथन २०२२ मा सहभागी हुन पाउँदा भाग्यशाली महशुस गरेँ’ उनी भन्छन्, ‘तर सगरमाथा आधार शिविरबाट खुम्बु भ्यालीको उच्च शेर्पा ट्रेलहरू पार गर्दैगर्दा विवादास्पद अनुभूति भयो।’
उनले त्यहाँ सौन्दर्यसँगै जलवायु परिवर्तनको नकारात्मक असरहरू देखेको बताए। सम्बन्धित निकायले चासो नदिएको र भविष्यमा आफूले जलवायु परिवर्तनसम्बन्धी चासो देखाउने उनले बताए। कार्बन फुटप्रिन्टहरू घटाउने प्रयास पनि गर्ने उनले बताए।
तेन्जिङ हिलारी एभरेष्ट म्याराथनमा भाग लिन सिप्रदी ट्रेडिङ्गका निर्देशक दाहालसँगै २४ विभिन्न राष्ट्रका १ सय ४७ जना सहभागी थिए।