एजेन्सी । भारतमा अहिले विद्युत् संकट गहिरिँदो छ । विद्युत् उत्पादनका लागि चाहिने कोइलाको माग अत्यधिक र आपूर्ति कम छ । यस्तो हुँदा गत महिना लामो लोडसेडिङ भयो ।
भारत सरकारले पब्लिक सेक्टरको कम्पनी कोल इन्डिया लिमिटेड (सीआईएल) लाई कोइला आयातका लागि तम्तयार रहन निर्देश दिएको थियो । यस्तै सरकारले विद्युत् कम्पनीहरुलाई आगामी १३ महिनाका लागि १.२ करोड टन कोइला आयात गर्ने उद्देश्यअनुरुप तयार हुन भनेको थियो ।
कोइलामन्त्री प्रल्हाद जोशीका अनुसार ऊर्जाको माग परिपूर्तिका लागि आगामी १८ वर्षमा थर्मल कोइलाको आवश्यकता लगभग १५०० मिलियन टन हुनेछ । कारण सन् २०४० सम्म विद्युत् माग दोब्बर हुने सम्भावना छ ।
‘पर्यावरणबारे जागरुक हुन तथा स्थायी उत्खननको लक्ष्यलाई ध्यानमा राख्नु जरुरी छ’, मन्त्री जोशीले भने, ‘२०४० सम्म अनुमानित बिजली उत्पादन ३ हजार बिलियन युनिट हुनेछ । भारतको ऊर्जा माग २०४० सम्म दोब्बर हुनेछ । यो मागलाई पूरा गर्नका लागि थर्मल कोइलाको माग बढेर झन्डै १५०० मिलियन टन हुनेछ ।’
कोइला कमीको मुख्य कारण के हो ?
अप्रिलमा देशका कैयौं ठाउँमा कोइलाको कमी हुँदा विद्युत् संकट देखिएको थियो । देशमा कुल विद्युत् आपूर्ति बढाउनका लागि पहिलेदेखि नै कैयौं उपायहरु अपनाइएका छन् । ग्यासमा आधारित बिजुली उत्पादनमा गिरावट आएको छ, जसले गर्दा संकट झन्झन् गहिरिँदै गइरहेको छ ।
तीव्र अर्थव्यवस्थाका कारण बिजुलीको मागमा वृद्धि, कोभिड १९, छिटो देखिएको गर्मी, ग्यासको मूल्यवृद्धि तथा आयातित कोइला र तटीय तापद्वारा विद्युत् उत्पादनमा गिरावट आएको कोइला सचिव एके जैनले बताएका छन् ।