काठमाडौं । शौर्य सिमेन्टले आफ्नो उद्योग परिसर भित्र वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ। शौर्य सिमेन्टका विक्रेताहरू, उद्योग परिसरका कर्मचारीहरूलाई सहभागी गरी शौर्य सिमेन्टले सो कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा आँप, लिची, अम्बा, कागती, नरिवल जस्ता विभिन्न प्रजातिका फलफूलहरूको बिरुवा रोपिएको थियो। उक्त वृक्षारोपणमा प्रत्येक विक्रेता र कर्मचारीको नाम, बिरुवा रोपिएको मिति, बिरुवाको प्रजाति र जैविक नाम अङ्कित गरी नेमप्लेटलाई बिरुवासँगै राखिएको छ। उक्त रोपिएको बिरुवालाई हुर्काउन मलजल गर्न मालीको जनशक्ति परिचालन गरिएको छ।
शौर्य सिमेन्टका ब्रान्ड म्यानेजर अनुज महत कार्यक्रमबारे भन्छन्, ‘कसलाई आफ्नो घर र घरको परिसर हरियाली नहोस् भन्ने लाग्छ ररु हामीले हाम्रो वातावरणलाई स्वछ पार्न र हाम्रो समाजप्रतिको दायित्व निभाउन यो कार्यक्रम गरेका हौं। र, आगामी दिनमा पनि यस्तै खालका कार्यक्रम गर्नेछौं।’
शौर्य सिमेन्टका विक्रेता आरोग्य सप्लायर्सका राजन ढुङ्गेल भन्छन्, ‘शौर्य सिमेन्टले साह्रै असल कार्यक्रम आयोजना गरेको छ। आफ्नो मिर्चैयास्थित उद्योग परिसरबाट सुरू गरेको यो वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिँदै र बिरुवा हुर्काउने सुनिश्चितता सुनेपछि हामी साह्रै हर्षित छौ। शौर्य सिमेन्टसँगको आत्मियता अझै प्रगाढ भएको छ।’
शौर्य सिमेन्टले बढ्दो प्रदूषणलाई मध्यनजर राखेर आफ्नो क्षेत्रलाई प्रदूषण रहित र हरियालीयुक्त बनाउन अग्रसर छ।