भरतपुर । संघीय सरकारले चितवन जिल्लालाई आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४ अर्ब ७२ करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जिल्लामा महानगरपालिका एक, नगरपालिका पाँच र गाउँपालिका एक छन् ।
सबैभन्दा बढी बजेट भरतपुर महानगरपालिकालाई १ अर्ब ८० करोड २४ लाख अनुदान बजेट विनियोजन गरिएको छ । भरतपुरले आगामी आवका लागि समपूरक बजेट २ करोड ५० लाख र विशेष अनुदान १४ करोड ८ लाखसमेत पाएको छ । त्यस्तै १ अर्ब २२ करोड ४५ लाख रुपैयाँ ससर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख पाउने भएको छ ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा महानगरपालिकाको प्रमुखमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रेनु दाहाल निर्वाचित भएकी छिन् । नगरप्रमुख दाहालकै पहलमा भरतपुरमा ठूला–ठूला आयोजना आउन सफल भएका छन् । संघीय सरकारले यसै वर्षदेखि सुरु गर्ने गरी भरतपुरमा शिक्षक अस्पतालका लागि समेत बजेट छुट्याइसकेको छ ।
यसैगरी जिल्लामा दोस्रो बढी बजेट प्राप्त गर्ने रत्ननगर नगरपालिका छ । नगरपालिकाले ५९ करोड ७२ लाख रुपैयाँ बजेट संघीय सरकारबाट पाएको छ । यसमा समानीकरण अनुदान २० करोड ९६ लाख, ससर्त अनुदान ३३ करोड ७६ लाख र विशेष अनुदान ५ करोड रुपैयाँ छ ।
त्यस्तै राप्ती नगरपालिकाले ५५ करोड ५९ लाख बजेट पाएको छ । राप्तीले पाएको बजेटमध्ये समानीकरण अनुदान १८ करोड ५३ लाख, ससर्त अनुदान २४ करोड २६ लाख र विशेष अनुदानतर्फ २ करोड रुपैयाँ रहेको छ । माडी नगरपालिकाले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ४९ करोड ६० लाख प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदान १३ करोड ९२ लाख, ससर्त अनुदान ३१ करोड ९८ लाख र विशेष अनुदान २ करोड ५० लाख रुपैयाँ रहेको छ ।
यस्तै खैरहनी नगरपालिकाले संघीय सरकारबाट आव २०७९/८० मा ४८ करोड ८ लाख रुपैयाँ बजेट प्राप्त गरेको छ । जसमध्ये समानीकरण अनुदानमा १८ करोड १८ लाख, ससर्त अनुदानमा २५ करोड १२ लाख र विशेष अनुदानमा ३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै कालिका नगरपालिकाले ४० करोड ९८ लाख बजेट पाएको छ । जसमध्ये समानीकरण अनुदान १५ करोड ५६ लाख, ससर्त अनुदान २३ करोड ४२ लाख र विशेष अनुदान १ करोड रुपैयाँ प्राप्त गरेको छ ।
जिल्लाको इच्छाकामना गाउँपालिकाले संघीय सरकारबाट जिल्लाका स्थानीय तहमा सबैभन्दा कम बजेट प्राप्त गरेको छ । गाउँपालिकाले आव २०७९/८० मा अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत सरकारबाट ३८ करोड रुपैयाँ बजेट प्राप्त गरेको छ । गाउँपालिकाले समानीकरण अनुदानअन्तर्गत ११ करोड १९ लाख, ससर्त अनुदानमा २४ करोड ३१ लाख र विशेष अनुदानमा १ करोड ७० लाख प्राप्त गरेको छ ।