काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्नो स्वामित्वमा रहेको १४४ मेगावाटको कालीगण्डकी ए विद्युतगृहबाट उत्पादित बिजुली भारत निर्यात सुरु गरेको छ । प्राधिकरणले कालीगण्डकीको बिजुली शनिबार राति १२ बजेबाट निर्यात सुरु गरेको हो ।
प्राधिकरणले विद्युत भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मा बिहीबारबाट त्रिशूली र देवीघाट जलविद्युगृहबाट उत्पादित बिजुलीलाई स्रोत मानी दैनिक रूपमा करिब ३९ मेगावाट विद्युत निर्यात गरिरहेको छ ।
कालीगण्डकीको पनि सुरु भएसँगै प्राधिकरणले १७७.७ मेगावाट विद्युत भारत निर्यात गर्न थालेको छ । कालीगण्डकी ए को १४० मेगावाट, त्रिशूलीको २३.२ मेगावाट र देवीघाटको १४.५ मेगावाट विद्युत भारत निर्यात सुरु भएको छ ।
वर्षातसँगै नदीनालामा पानीको वहाव बढेर विद्युतगृहहरू पूर्ण क्षमतामा चल्न थालेपछि आन्तरिक रूपमा खपत गरी अतिरिक्त भएको बिजुलीलाई प्राधिकरणले भारत निर्यात गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार रातिबाट निर्यात भएको जानकारी दिए । उनका अनुसार सो विद्युतको औसत बिक्री मूल्य प्रतियुनिट ११.२ रुपैयाँ (७ भारु) रहेको बताए । ‘अधिकतम दर प्रतियुनिट १९ रुपैयाँ (१२ भारु), न्यूनतम २.३८ रुपैयाँ (१.४९ भारु) र औसत दर ११.२ रुपैयाँ (७ भारु) छ’, घिसिङले भने ।
आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक फरक हुने गरेको छ ।
प्राधिकरणका अनुसार बिहीबार निर्यात गरिएको विद्युतको अधिकतम र न्यूनतम मूल्य प्रतियुनिट क्रमशः भारु १२ (१९.२ नेरु) र २.४९ (३.९८नेरु) छ । त्यसदिनको औसत मूल्य प्रतियुनिट भारु ६.७२ (१०. ७६ नेरु) छ ।
यसैगरी, शनिबार प्राधिकरणले अधिकतक प्रतियुनिट मूल्य १९.२ रुपैयाँ (१२ भारु) र न्यूनतम ४.०८ रुपैयाँ (२.५५ भारु)मा विद्युत बिक्री गरेको छ । औसतम मूल्य ११.४८ रुपैयाँ (७.१८ भारु) रहेको छ ।
रुस–युक्रेन युद्धका कारण कोइला आपूर्ति बन्द भएपछि भारतमा बिजुलीको भाउ अकासिएर प्रतियुनिट ३८ रुपैयाँ भारुसम्म पुगेको थियो । बिजुलीको भाउ अनियन्त्रित रुपमा बढेपछि भारतको केन्द्रीय विद्युत नियामक निकायले अधिकतम मूल्य १२ भारु तोकेको थियो । नेपालले भारतीय ऊर्जा एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा ३६४ मेगावाटसम्म विद्युत बिक्री गर्न अनुमति पाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले भारतको ऊर्जा मन्त्रालयले ३६४ मेगावाट बिजुली निर्यातको अनुमति दिए पनि ४२५ मेगावाटसम्म बेच्न पाइने जानकारी गराइसकेका छन् ।
हालको मूल्यमा बिजुली भारतमा निर्यात गरेमा विद्युत प्राधिकरणले ६ महिनामा २८ देखि ३० अर्ब रुपैयाँ आम्दानी गर्ने छ ।
४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजना सञ्चालनमा आएपछि गत वर्ष नै झण्डै ५ अर्ब रुपैयाँ बराबरको ५०० मेगावाट बिजुली खेर गएको थियो । बिजुली उत्पादन बढ्दै गएकाले अब भारतमा निर्यात हुने परिमाण बढ्दै जाने छ । चालू आर्थिक वर्षभित्र नेपालको बिजुली उत्पादन जडित क्षमता २३०० मेगावाट पुग्दैछ ।
गत वर्ष सुक्खायाममा नेपालले भारतबाट ७०० मेगावाट बढी बिजुली आयात गरेको थियो । आन्तरिक उत्पादन बढ्दै गएपछि चालू आर्थिक वर्षमा आयात हुने परिमाण घट्दै गएको छ ।
आउँदो २ वर्षभित्र आन्तरिक उत्पादन बढेर भारतबाट बिजुली आयात बन्द हुने प्राधिकरणले जानकारी गराइसकेको छ । बढी भएको बिजुली भारतमा बेच्ने योजना प्राधिकरणको छ । भारतसँग ठूलो परिमाणमा व्यापार घाटा भएकाले बिजुली निर्यात गरेर केही हदसम्म कम गर्न सकिने छ ।