एजेन्सी । विद्युतीय दुई पाङग्रे सवारी निर्माताहरूले आफ्ना विस्तारित योजनाहरूलाई अघि बढाउन ग्लोबल प्राइभेट इक्विटी फण्डको प्रयोग गरिरहेका छन् ।
दुई पाङग्रे विद्युतीय सवारी (इभी) कम्पनी र सहायक एकाइहरूले इक्विटी फर्महरूबाट २ अर्ब डलर उठाउने तयारी गरेका छन् । जसको लगभग आधा पुँजी चाँडै नै जुटाउन छलफल अन्तिम चरणमा पुगेको लगानी बैंकर र संस्थापकहरूले बताएका छन् ।
हिरो इलेक्ट्रिक, अर्थर इनर्जी, प्योर इभी, सिम्पल इनर्जी, टिभिएस मोटर्स, ओभन र आइभोमी कम्पनीले इक्विटी फण्डबाट लगानीको तयारी गरेका छन् । ठूला कम्पनीहरुले १० करोडदेखि २५ करोड डलरसम्म लगानी प्राइभेट इक्विटी फण्डबाट उठाउन लागेका छन् । यस्तै सानाले ३ देखि ६ करोड डलरसम्म उठाउन खोज्दै छन् ।
विद्युतीय दुई पाङग्रे सवारी साधनको पहुँच समग्र बजारको ४ प्रतिशतसम्म पुगेको छ । दुईपाङग्रे सवारी साधन निर्माताहरूले स्थापित क्षमताहरू बढाउन र आफ्ना डिलर नेटवर्कहरू विस्तार गर्न खोजिरहेका छन्।
हिरो इलेक्ट्रिकले दक्षिण र पश्चिममा दुईवटा ग्रीनफिल्ड कारखानाहरू स्थापना गर्न २० अर्ब भारु लगाउने भएको छ । त्यसका लागि गत वर्ष युएईमा रहेको गल्फ इस्लामिक इन्भेष्टमेन्टबाट ३ करोड डलर प्राप्त भइसकेको रकम लगानी गर्ने भएका छन् ।
‘सिरिज बी फण्डबाट प्राप्त रकम उद्योगको क्षमता विस्तार, बजारिकरण, नयाँ उत्पादन विकास, नेटवर्क विस्तार, इभी इकोसिस्टम निर्माण र अनुसन्धान तथा विकासमा प्रयोग गरिएको थियो’ हीरो इलेक्ट्रिकका प्रबन्ध निर्देशक नवीन मुन्जालले भने ‘जब हामीलाई थप रकम चाहिन्छ, हाम्रो वृद्धि र विस्तार लक्ष्यहरूलाई जारी राख्न थप पुँजी जुटाउनेछौं ।’
हिरो इलेक्ट्रिकले ५० लाख युनिट वार्षिक उत्पादन क्षमताको लक्ष्य राखेको छ । यस्तै महिन्द्रा एण्ड महिन्द्रासँग पिथमपुर प्लान्टबाट सवारी साधन उपलब्ध गराउने सम्झौता पनि गरेको छ ।
सिम्पल इनर्जीका संस्थापक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुहास राजकुमारले भने ‘स्टार्टअपमा लगानी जुटाउने काम कहिले नरोक्ने प्रक्रिया हो । हामीले आगामी क्वार्टरमा कोष जुटाउने योजना बनाएका छौं । हामी सिरिज ए राउन्डका लागि प्राइभेट इक्विटी र ठूला ग्लोबल फन्ड हाउसहरूसँग १० करोड डलर लगानी जुटाउन कुराकानी गरिरहेका छौं।’
आगामी केही महिनामा लगानी जुटाउने लक्ष्य रहेको उनले सुनाए । कम्पनी ऋण र इक्विटीको संयोजनको रूपमा लगभग १० करोड डलर उठाउने प्रक्रियामा छ ।
‘हाम्रो व्यवसायको प्रकृतिलाई ध्यानमा राख्दै, धेरै प्रभावकारी इक्विटी फण्डहरु वातावरण, सामाजिक र शासन परिप्रेक्ष्यबाट लगानी गर्न हामीसँग सम्पर्कमा छन । हामी अहिलेसम्मको प्रगतिबाट खुसी छौं,’ माइल मोवलिटीका सीईओ अमित गुप्ताले थपे ‘दुई पाङग्रे सवारी साधन कम्पनीहरूले आगामी छ देखि आठ महिनामा सजिलैसँग १ अर्ब डलर भन्दा बढी सङ्कलन गर्न सक्नेछन ।’
एभेन्डस इन्भेष्टमेन्ट बैंकिङका कार्यकारी निर्देशक कौशिक भट्टाचार्यले चालु आर्थिक वर्षमा दुई पाङग्रे सवारी साधनको आकार १० लाख युनिट पुग्ने सम्भावना रहेको बताए । यो गत आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो चिपको अभाव बिस्तारै कम हुँदै गएकाले उत्पादन बढ्ने उनको भनाई छ ।
(द इकोनोमिक टाइम्सको सहयोगमा)