काठमाडौं । समयअनुसार पुराना रीतिरिवाजहरु बिस्तारै हराउँदै जान थालेका छन् । विदेशी कल्चरले छोप्दै लगिरहेको छ । काठमाडौं उपत्यकामा परम्परागत शैलीका घर तथा डिजाइन पाउनै मुस्किल छ ।
काठमाडौं, ललितपुर र भक्तपुर नेवारी समुदायको थातथलो हो । कुनै बेला यहाँ उनीहरुको परम्परागत तथा साँस्कृतिक खानपान हुन्थ्यो । तर, अहिले बिस्तारै खानाका परिकारहरु परिवर्तन हुँदै गएका छन् ।
भान्छामा होस् या खाना–खाजामा हामी नयाँ स्वादमा रमाउन खोजिरहेका हुन्छौं । यति हुँदाहुँदै पनि नेवारी कल्चरलाई जोगाउँदै खाना–खाजाको स्वाद चखाउने उद्देश्यले उपत्यकाभित्र विभिन्न रेष्टुराँ र होटलहरु खुल्ने क्रमले तीव्रता पाएको छ ।
यसै सन्दर्भमा नेवारी खाना–खाजा रुचाउने पारखीका लागि काठमाडौंको थापाथलीनजिकै खुलेको नयाँ रेष्टुराँ हो ‘वैग’ ।
नेवारी नाम दिइएको सो रेष्टुराँमा नेवारीबाहेक अन्य परिकार पाइँदैन । रेष्टुराँहरुको भीडमा केही पृथक स्वाद र पहिचान दिनका लागि गत चैतदेखि सञ्चालनमा आएको वैगका सञ्चालकहरु हुन्, रामचन्द्र श्रेष्ठ र निर्भय प्रसाईं । उनीहरुको टिममा रोशन श्रेष्ठ, रुपेश राजभण्डारी र विशाल खड्का पनि जोडिएका छन् ।
नेवार समुदायकै बढी सदस्य मिलेर सञ्चालनमा ल्याएको वैग थापाथलीको नर्भिक हस्पिटलनजिकै छ । सञ्चालकहरुले काठमाडौंमा नेवारी खाना तथा खाजाका परिकार खान कीर्तिपुर र भक्तपुरका निश्चित ठाउँमा पुग्नुपर्ने बाध्यतालाई हटाउन थापाथलीमा वैग रेष्टुराँ सञ्चालनमा ल्याएको बताउँछन् ।
‘चक्रपथबाहिर नेवारी परिकार बन्ने ठाउँ नभएको होइन तर, चक्रपथ भित्रै शान्त वातावरणमा नेवारी परिकार मात्रै बन्ने रेष्टुरेन्ट हामीले देखेनौं । त्यसैले वैग सञ्चालनमा ल्याएका हौं’, विशाल खड्का सुनाउँछन् ।
धेरै मान्छेलाई नेवारी खानेकुरा मन पर्ने तर, गुणस्तर र शान्तः वातावरण ग्राहकले नपाएको महसुस गरेको खड्काको भनाइ छ ।
‘नेवारी परिकार धेरैले मन पराउने तर, काठमाडौंभित्र राम्रो वातारणमा भट्टी स्टाइलमा खान खोज्ने मान्छेले उपयुक्त स्थान नपाएको अवस्था छ’, सञ्चालक रुपेश राजभण्डारीले भने, ‘केही नेवारी कल्चर र परिकार पाइने रेष्टुराँ भए पनि खानाको गुणस्तर राम्रो नहुने कुरालाई ख्याल गरेर वैग सञ्चालन ल्याएका हौं ।’
वैग सञ्चालनमा आएको धेरै भएको छैन । तर, ग्राहकको रोजाइमा नेवारी खाना पर्न थालेको छ । गत चैत १२ गते ‘प्री–ओपनिङ’ भएको वैगको पूर्णरुपले सञ्चालन भने असार १ गतेबाट गर्ने तयारी छ । अहिले परीक्षणको क्रममा सञ्चालन भइरहेको वैगले ग्राहकबाट प्रतिक्रिया लिइरहेको छ ।
‘हामीले वैगलाई कसरी अघि बढाउन सकिन्छ भनेर ग्राहकबाट प्रतिक्रियाहरु लिँदै छौं र खाना कस्तो लागेको छ ? के सुधार गर्नुपर्छ ? भनेर सल्लाह–सुझाव बटुल्दै छौं’, विशालले भने ।
३ करोडको लगानी
नेवारी संस्कृति झल्कने वैगमा करिब ३ करोड लागत लाग्ने अनुमान छ । निर्माणाधीन अवस्थामै रहेको उक्त रेष्टुराँमा हालसम्म साढे २ करोड लगानी भइसकेको छ । अझै करिब ५० लाख रुपैयाँ लागत लाग्ने उनीहरुको अनुमान छ ।
पुराना डिजाइनको संरचना
परम्परागत शैलीबाट निर्माण गरिएको वैगले संस्कृति जगेर्नालाई प्राथमिकता दिएको पाइन्छ । हेर्दा आकर्षक र पुरानो शैलीको लाग्ने घरमा बाहिरबाटै नेवारीपन झल्किन्छ । आँखीझ्यालसहित विभिन्न आकृतिले घरलाई नै कलात्मक बनाइएको छ ।
काठलाई विभिन्न आकृतिमा कुँदेर पुरानो शैलीमा रेष्टुराँको निर्माण भएको छ । जसलाई हेरेर पनि लोप हुन लागेको डिजाइ वैगले बचाएको अनुमान गर्न सकिन्छ ।
नेवारी ड्रेस र नेवारी खाना
नेवारी नामबाट सञ्चालनमा आएको उक्त रेष्टुराँमा नेवारी खाना मात्र नभई प्रत्येक कर्मचारीले नेवारी वेशभूषा नै लगाउँछन् । भर्खरै सुरुवाती चरणमा रहेको वैगमा अहिले भने पूर्णरुपले ड्रेस लगाइसकेका छैनन् । असारको ओपनिङपछि भने सबै कर्मचारीले अनिवार्य रुपमा नेवारी पोसाक लगाउने विशालको भनाइ छ ।
सञ्चालक ५ जनासहित २२ जनाको टिम वैगमा रहने छ ।
नेवारीबाहेक अन्य परिकार नपाइने वैगमा ‘बार्बी क्यू’ भने नेवारी र स्वदेशी बाहेकको ब्रान्डमा पनि पाइने बताइएको छ । नेपाली तथा स्वदेशी मादक पदार्थ खान नचाहनेहरुको लागि विदेशी ब्रान्ड पनि उपलब्ध गराउनेछ ।
‘नेवारी परिकार मात्रै पाइने भएकाले अन्य खाना पाइँदैन । तर, बार्बी क्यू भने विदेशी ब्रान्डको राख्छौं । नेपालमा विदेशी ब्रान्डका मादकपदार्थ सेवन गर्न चाहने पनि हुनुहुन्छ त्यसैले बार्बी क्यूमा हामीले स्वदेशी वा नेवारी भनेर छुट्याएका छैनौं’, सञ्चालकले भने ।
नेवारी परिकार बनाउन जान्ने कुकको अभाव
नेपाली बजारमा नेवारी परिकार बनाउन जान्ने मान्छेको अभाव रहेको वैगको अनुभव छ । मान्छे नै नभएका त होइनन् । तर, नेवारी परिकार बनाउन जानेकाहरु आफैंले सानो–सानो नेवारी खाजा घर सञ्चालन गर्दा कुकको रुपमा बजारमा मान्छे भने छैनन् । जसले गर्दा वैगले अन्य कर्मचारी सहजै पाएको अवस्थामा कुक भने सजिलोसँग पाएको छैन ।
१५ वर्षको अनुभव
रहरले मात्रै वैग सञ्चालनमा आएको भने होेइन । उनीहरुको लामो अनुभवले जन्माएको हो, वैग । काठमाडौंकै अन्य ठाउँमा रेष्टुराँ सञ्चालन गर्दै आएका उनीहरुले संयुक्त रुपमा वैग सञ्चालनमा ल्याएका हुन् । होटल व्यवसायको क्षेत्रमा सञ्चालकहरु डेढ दशको अनुभव छ । कसैले अन्य व्यवसाय गरेर पनि रेष्टुराँलाई अघि बढाउने योजना बनाएका छन् ।