बेनी । पश्चिम म्याग्दीको मंगला गाउँपालिकाका एक कृषकले ४० लाखको लगानीमा डेढ रोपनी जग्गामा स्थापना गरेको नर्सरीमा ४० हजार बढी सुन्तलाका बिरुवा तयारी अवस्थामा छन् ।
मंगला–४ बरङ्जाको आरकुलीका रेशम बुढाथोकीले आफ्नै घरछेउमा जग्गामा नर्सरी स्थापना गरी मनग्ये आम्दानीसमेत गर्दै आएका छन् । उनका नर्सरीमा अहिले १८ महिनाका २५ हजार र ३२ महिनाका करिब १५ हजार स्थानीय बाँसखर्क जातका सुन्तलाका बिरुवा बिक्रीका लागि तयारी भएको उनले जानकारी दिए ।
नर्सरीमा उत्पादन गरिएका सुन्तलाका बिरुवाको परीक्षण (पीसीआर) पनि गरिएको छ । क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट विज्ञको टोली ल्याई परीक्षण गर्दा बिरुवामा रोग नदेखिएको उनले बताए ।
एक हजार ६३० मिटरको उचाइमा उत्पादन गरिएको बिरुवा भएकाले उत्पादन राम्रो दिने उनको भनाइ छ । जिल्ला तथा आसपासका कृषकलाई नर्सरीमा आई बिरुवा खरिद गरी व्यावसायिक सुन्तला खेती गर्न बुढाथोकीले अनुरोध गर्नुरेका छन् ।
विसं २०६९ देखि व्यावसायिक कृषि पेशा अँगालेका बुढाथोकीको नर्सरीमा हाल सुन्तलासँगै एक हजार २०० ओखरका बिरुवा, चार हजार कागतीका बिरुवा, चार हजार टिमुरका बिरुवा र पाँच हजार डालेघाँसलगायतका बिरुवा तयारी अवस्थामा छन् । यसबाहेक ८४ किवीका बोटले अघिल्लो वर्षदेखि उत्पादन दिन सुरु गरेका छन । बरङ्जा नर्सरी तथा पशुपन्छी पालन फर्म दर्ता गरी व्यावसायिक कृषि पेसामा लागेका बुढाथोकीको नर्सरीमा हालसम्म करिब ४० रुपैयाँ लाख लगानी पुगेको छ ।
गत आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र बेनीबाट प्राप्त ५ लाख रुपैयाँ अनुदानले दुईवटा ग्रीन हाउस निर्माण गरेको कृषक बुढाथोकीले बताए । यस्तै क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेबाट २ लाख ५० हजार बराबरको कृषि सामग्री सहयोग प्राप्त भएको उनको भनाइ छ । तयारी भएका सुन्तलाको बिरुवाको बजारमा भने समस्या भएको छ ।
बुढाथोकीले नर्सरीबाट वार्षिक रूपमा ५ लाख आम्दानी गर्दै आइरहेका छन् । यसका अलवा उनले बाख्रा र माछा पनि पाल्दै आएका छन् । बाख्रापालनबाट पनि राम्रो आम्दानी भइरहेको छ । कुषि व्यवसायमा उनलाई गौमती बुढाथोकीले पनि साथ दिएकी छन् ।