काठमाडौं । सिजी कर्प ग्लोबलले इजिप्टमा चन्द्रसूर्य अंकित नेपाली राष्ट्रिय झण्डा फहराएको छ । नेपालको विश्वव्यापी लोकप्रिय ब्रान्ड वाईवाईको इजिप्टमा प्लान्ट स्थापना गर्ने योजना कार्यान्वयनसँगै त्यहाँ नेपाली झण्डा फहराएको हो ।
सिजी कर्प ग्लोबल नेपालका एक्ला अर्बपति विनोद चौधरीका गैरआवासीय नेपाली (एनआरएन) छोराहरुद्वारा प्रवर्द्धित कम्पनी हो । उक्त कम्पनीले विश्वव्यापी रुपमा वाईवाईको विस्तारका अतिरिक्त हस्पिटालिटी क्षेत्रमा लगानी गर्नुका साथै सिजीलाई एसियाको एक द्रुततर गतिमा सफलता हासिल गर्ने कम्पनीका रुपमा स्थापित गरेको छ ।
बिहीबार इजिप्टको बेनिसफमा आयोजित एक कार्यक्रमकाबीच वाईवाई प्लान्टको शिलान्यास गरिएको हो । इजिप्टस्थित नेपाली दूतावासका चार्ज डी अफेयर्स दीपक घिमिरे र सीजी कर्प ग्लोबलका वरिष्ठ अधिकारीहरु उक्त कार्यक्रममा सहभागी थिए ।
वाइवाइको प्लान्ट शिलान्याससँगै उद्योग स्थापना हुने ठाउँमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ ।
सिजी कर्प ग्लोबलले विश्वव्यापी आफ्ना आइकनिक प्रोपर्टीहरूमा नेपालको झण्डा फहराइरहेको छ । दुबईस्थित जेएलटी होटल, काजखस्थितस्थित वाईवाई प्लान्ट लगायतका ठाउँहरुमा यसअघि नै नेपाली झण्डाले नेपालको शान बढाइरहेको छ ।
वाईवाई अन्तर्राष्ट्रिय बजारमा नेपालको सबैभन्दा प्रख्यात ब्रान्ड हो । नेपाल, भारत, बंगलादेश, युरोप, युरेसिया, सेन्ट्रल एसियाबाट वाईवाई उत्पादन हुँदै आएको छ ।
विश्व नुडल्स बजारमा तीन प्रतिशतको हिस्सा ओगट्दै वाईवाई एक शसक्त ब्रान्ड बनेको छ ।