काठमाडौं । निजी क्षेत्रबाट सञ्चालित ‘क’ वर्गको रमन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडको सञ्चालन आम्दानी घटेको छ । सन् २०२१ मा रमनले १ अर्ब ११ करोड ६२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । सञ्चालन आम्दानी सरकारलाई कर र कर्मचारीलाई बोनस दिनुअघिको आम्दानी हो ।
अघिल्लो वर्ष सन् २०२० मा १ अर्ब ८० करोड, सन् २०१९ मा २ अर्ब ३ करोड २८ लाख र १ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । कोरोना महामारीले गर्दा काममा अवरुद्ध हुँदा आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ ।
आयोजनाको साइट क्लियरेन्स, जग्गा प्राप्ति, स्थानीयको अवरोध र कर्मचारीको ढिलासुस्तीले गर्दा निर्माण आयोजनाको काम निर्धारित समयमा सम्पन्न नभएको हो ।
सञ्चालन आम्दानी १ अर्ब ११ करोड हुँदा कम्पनीले १० अर्ब ९४ करोड १४ लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ । इक्रा नेपाल लिमिटेडले इक्राएनपी एलबीबी ए फोर रेटिङ गरेको छ ।
४ वर्षको अवधिमा रमनले ठूला सडक, विमानस्थल, पुल, रेलवे लाइन र ठूला भवन गरी १९ अर्ब २० करोड रुपैयाँ बराबरको ६३ वटा आयोजना सम्पन्न गरेको छ ।
रमनसँग अहिले ३९ अर्ब रुपैयाँबराबरका ७३ वटा ठूला परियोनजना रहेका छन् । जसमध्ये २२ अर्ब ७० करोडका ११ वटा आफ्ना र बाँकी संयुक्त उपक्रम (ज्वाइन्ट भेन्चर) मा निर्माणाधीन अवस्थामा छन् । ९ अर्ब ३० करोडका आयोजना कार्यान्वयनका चरणमा छन् ।
सन् १९९० मा स्थापना भएको रमनले ठूला सडक, पुल र खानेपानी आयोजना सम्पन्न गरेको छ । कम्पनीमा बलराम महतोको २०, रमन महतको ४० र पवन महतोको ४० प्रतिशत स्वामित्व रहेको छ । रमन अहिले कम्पनीका कार्यकारी निर्देशक रहेका छन् ।