एजेन्सी । रुसबाट कच्चा तेल आयातमा छिमेकी मुलुक भारतमा नयाँ रेकर्ड कायम भएको छ । मे महिनामा रुसी तेल आयातमा नयाँ रेकर्ड कायम गरेको हो । यस्तै जुनमा पनि रुसबाट कच्चा तेल आयातले नयाँ रेकर्ड कायम गर्ने सम्भावना बढेको भारतको कमोडिटी एक्पर्ट केप्लरले जनाएको छ ।
भारतले अहिले प्रतिब्यारेल ४० डलरभन्दा सस्तो मूल्यमा रुसबाट कच्चा तेल आयात गरिरहेको छ । भारतीय रिफाइनरी कम्पनीहरुले रुसबाट सस्तोमा कच्चा तेल आयात गरिरहेका छन् । उनीहरुले यसबाट लाभ लिइरहेका छन् ।
मे महिनामा भारतले दैनिक ८ लाख ४० हजार ६४५ ब्यारेल कच्चा तेल आयात गरेको थियो । अप्रिलमा ३ लाख ८८ हजार ६६६ ब्यारेल र सन् २०२१ को मेमा १ लाख ३६ हजार ७७४ ब्यारेल आयात गरेको थियो । यो महिना बढेर दैनिक १० लाख ५ हजार ब्यारेल पुग्ने अनुमान केप्लरले गरेको छ ।
सस्तो मूल्यका कारण रुसबाट आयात हुने तेलको परिमाण बढ्ने भएको छ । गत वर्ष कुल आयातको २ प्रतिशत मात्र हिस्सा रुसी कच्चा तेलको थियो । अहिले बढेर गएको छ ।
भारतीय रिफाइनरहरू भारी छुटमा रुसी कच्चा तेल किन्न पाउँदा खुसी छन् । जुन मूल्य बेन्चमार्क ब्रेन्ट क्रुडको भन्दा प्रतिब्यारेल ४० डलर कम दरमा प्रस्ताव गरिएको छ ।
युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशहरुले रसियालाई दण्डित गर्न तेल बिक्रीमा प्रतिबन्ध लगाएका छन् । युरोेपेली संघ (ईयू) ले रसियाबाट आयात हुने ९० प्रतिशत तेल कटौती गरिसकेको छ । जर्मनी र पोल्यान्डले त पाइपलाइनबाट आयात हुने रुसी तेल बन्द गरिसकेका छन् ।
रुसले ईयूका २७ मुलुकमा तेल निर्यात गर्दै आएको थियो ।
रुसी तेल किन्दै आएका जापान र कोरियाले पनि आयात कटौती गर्ने बताइसकेका छन् । यद्यपि, विश्वको सबैभन्दा ठूलो कच्चा आयातकर्ता चीन र तेस्रो ठूलो भारतले अन्य आपूर्तिकर्ताहरूको तुलनामा सस्तो मूल्यको फाइदा उठाउनका लागि बढ्दो मात्रा खरिद गर्दै रूसी निर्यातकर्ताहरूलाई जीवनरेखा प्रदान गरेको छ ।
भारतको रिलायन्स इन्डस्ट्रिज लिमिटेडले पश्चिमी तटमा रहेको जामनगरमा १२ लाख ब्यारेल कच्चा तेल प्रशोधन गर्नै रिफाइनरी कम्प्लेक्स सञ्चालन गर्दैछ । उसले भारतको घरेलु बजारमा इन्धन आपूर्ति गर्छ, धेरै उत्पादन निर्यात पनि गर्दै आएको छ ।
सिक्काको बन्दरगाहले रिलायन्सको कच्चा आयातलाई ह्यान्डल गर्छ । तथ्यांकअनुसार १ करोड ८ लाख १० हजार ब्यारेल रूसी कच्चा तेल मे महिनामा आइपुगेको थियो ।
( द इकोनोमिक टाइम्सको सहयोगमा)