काठमाडौं । साताको चौथो दिन बिहीबारकाे सेयर बजार कारोबार १८ दशमलव २१ अंकले घटेको छ । यस दिन नेपाल स्टक एक्सचेञ्ज ‘नेप्से’ १८ दशमलव २१ अंकले ओरालो लाग्दै २१ सय बिन्दुमाथि नै रोकिएको छ । अधिल्लो कारोबार दिन बुधबार पनि नेप्से ७.२१ अंकले ओरालो लागेको थियो । पछिल्लो चार दिनमा नेप्से १११ अंकले घटेको छ ।
यस दिन १ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस दिन कारोबारको पहिलो १० मिनेटमा बजारले उकालो यात्रा तय गर्न सफल भयो । बजार खुलेको १० मिनेटसम्म सकारात्मक देखिएको नेप्से परिसूचक निरन्तर घट्दै २११२ बिन्दुमा आएर रोकिएको छ ।
सेयर बजार तरलता अभाव, बिग्रँदो अर्थतन्त्र, बढ्दो ब्याजदरका कारण बजार सजिलै बढ्न सक्ने सम्भावना कम छ । सेयर बजार आगामी नयाँ मौद्रिक नीति पर्खिरहेको देखिन्छ । मौद्रिक नीतिले आगामी बजारको बाटो तय गर्ने विश्लेषक बताउँछन् ।
अधिकांश कम्पनीहरुको सेयर मूल्य २ सयदेखि ३ सयको बीचमा आइपुग्दा मौद्रिक नीतिसम्म सामान्य हेरफेर मात्रै हुने स्थिति छ । नेप्सेमा बिहीबार २२७ कम्पनीको ३५ लाख ६६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । यस दिन सबै म्युचुअल फन्ड बाहेका सबै समूह रात्तामे छन् ।
हालै आईपीओ जारी गरेका बलेफी हाइड्रोपावरको मूल्यमा सर्किट लागेर बढेको छ । साथै, गुराँस लघुवित्त, उपकार लघुवित्त र आशा लघुवित्तको सेयरमूल्य उच्च दरले बढेको छ ।
कारोबार रकमका अधारमा माउन्टेन हाइड्रो नेपालले सबैभन्दा बढी कारोबार गरेको छ । माउन्टेन हाइड्रो नेपालले १२ करोड रुपैयाँ बराबरको कारोबार गरेको छ ।
त्यस्तै, एनआईसी एसिया बैंकले ६ करोड ५४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नबिल बैंक र हिमालयन डिस्टिलरी छन् ।