काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारद्वारा आइतबार सदनमा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को बजेटमा व्यापार घाटा घटाउने र उत्पादन वृद्धिका कार्यक्रम अत्यन्तै राम्रो भएको सुझाव दिए । प्रतिनिधिभसभाको आजको बैठकमा बजेट माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उनले करमा छुटेका कुरालाई समेत एक ठाउँमा ल्याउनुपर्नेमा जोड दिए ।
थापाले अर्थमन्त्री अर्थमन्त्रीले ल्याएकाे बजेटमार्फत पेट्रोलियम पदार्थमा परनिर्भरता घटाउने कुराकाे प्रशंसा गर्न सकिने बताएक छन् ।
'अर्थमन्त्रीले यति धेरै प्रशंसा गर्न सकिने कार्यक्रम ल्याउनुभएको छ, त्यसको लागि मैले धन्यवादसमेत दिएको छु', उनले भने, 'तर, यो समयमा इलेक्ट्रिक मोबिलिटिका सन्दर्भमा हामीले यति महंगो गाडी, यति सस्तो गाडी भनेर राजस्वको चस्माले मात्रै हेर्यौं भने इलेक्ट्रिक मोबिलिटिको सम्भावना आउँदै आउँदैन ।'
उनले प्रश्न पनि गरे, 'ऊर्जा मन्त्रालयले इलेक्ट्रिक मोबिलिटिका सन्दर्भमा योभन्दा बढीको गाडीलाई यसरी कर लाउनुपर्छ भनेर मागेको हो कि अर्थ मन्त्रालयले ?'
चितवन जाने फास्ट ट्रयाकको कुरा आइसकेपछि सडकका साथीलाई साेधेकाे बताउँदै उनले प्रश्न थपे, 'तर, सडकका कसैलाई पनि थाहा छैन । लगानी बोर्डले पैसा जुटाए पनि यसको प्रारम्भ त भौतिक मन्त्रलयाबाट हुने होला । त्यसैले मन्त्रालयले ल्याएको मात्रै समायोजन गर्ने हो कि अर्थ मन्त्रालयले कतिपय सन्दर्भमा त्यसका फण्डामेन्टल कुरालाई बदल्ने गरी गर्नु उपयुक्त हो कि होइन ?'
'बजेट कार्यान्वयन हुनुपर्छ, राम्रो कार्यक्रम छ', उनले भने, 'तर अर्थ मन्त्रालयले सम्बन्धित मन्त्रालयलाई बोलाएर बजेट कार्यान्वयनको विषयमा छलफल गर्न जरुरी छ, व्यापार घाटा घटाउने विषयमा सही नीति ल्याएको छ ।'