काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भनेजस्तै मौसम पूर्वानुमान महाशाखाले आन्तरिक उडानका लागि इनरुटको जानकारी गराउन नसक्ने जानकारी गराएको छ । तारा एयरको जहाज दुर्घटनापछि प्राधिकरणले मौसम पूर्वानुमान महाशाखाले गन्तव्यको मौसम सफा भएको जानकारी नदिएसम्म उडन अनुमति नदिने निर्णय गरेको थियो ।
प्राधिकरणले निर्णय गरे पनि मौसम पूर्वानुमान महाशाखासँग कुनै समन्वय नभएपछि दुई दिनदेखि पहाडी र हिमाली क्षेत्रमा हुने आन्तरिक उडान पूर्ण रुपमा प्रभावित भएका छन् ।
महाशाखाले बिहीबार एक सूचना जारी गर्दै आन्तरिक उडानका लागि मौसमको जानकारी उपलब्ध गराउनुपर्ने भन्ने निर्णयमा ध्यानाकर्षण भएको जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखले हवाई मौसम सेवाअन्तर्गत अन्तर्राष्ट्रिय हवाई उडानका लागि आवश्यक मौसमी सूचना तथा इनरुट पूर्वानुमान दिँदै आएको र आन्तरिक हवाई उडानका लागि काठमाडौं विमानस्थलको मौसम अवलोकन सूचना मात्र दिँदै आएको जनाउँदै आन्तरिक उडानका लागि हाल उपलब्ध जनशक्ति र प्रविधिहरुको माध्यमबाट मौसमी सूचना मात्र दिने सकिने उल्लेख गरेको छ । यससँगै दैनिक क्षेत्रगत मौसमी अवस्थाको बिफ्रिङ मात्र गर्न सकिने जानकारी विभागले दिएको छ ।
प्राधिकरणले मंगलबार विज्ञप्ति जारी गर्दै जल तथा मौसम विज्ञान विभागबाट जारी भएका मौसमसम्बन्धी भविष्यवाणीले कुनै उडान क्षेत्रमा निश्चित अवधिसम्म उडानका लागि प्रतिकूल मौसमको विवरण दिएको अवस्थामा उडानहरुमा रोक लगाउने र एयरलाइन्सहरुले उडान अनुमति लिँदा सम्बन्धित गन्तव्यको मौसमको यकिन जल तथा मौसम विज्ञान विभागबाट अनिवार्य गराउनुपर्ने निर्णय गरेको थियो ।
प्राधिकरणले तीन दिनअघि नै निर्णय गरे पनि सम्बन्धित निकायसँग कुनै समन्वय गरेको छैन । जसका कारण बुधबार र बिहीबार हिमाली र पहाडी क्षेत्रमा उडान भएनन् ।
ती क्षेत्रमा उडान नहुँदा बिहानै विमानस्थलसम्म पुगेका यात्रुहरु घरमा फर्किएका थिए ।
तारा एयरको मात्रै बिहीवार बिहानका लागि पश्चिममा ५ र काठमाडौंबाट लुक्ला ५ वटा उडान तालिका भए पनि उडान अनुमति नपाएपछि स्थगित गरिएको प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए ।
यससम्बन्धी प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णसँग प्रतिक्रिया लिन खोज्दा उनले फोन उठाएनन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमाली र पहाडी क्षेत्रमा तारा, सिता, समिट र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन् ।