एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकको प्यारेन्ट कम्पनी मेटाकी एक सदस्यले राजीनामा दिएकी छिन् ।
कम्पनीकी चिफ अपरेटिङ अफिसर (सीओओ) सेरिल स्यान्डबर्गले राजीनामा दिएकी हुन् ।
उनी फेसबुकमा १४ वर्षदेखि आबद्ध थिइन् । फेसबुकलाई स्टार्टअपबाट चर्चित सामाजिक सञ्जाल बनाउनेमा उनको भूमिका महत्वपूर्ण थियो ।
यद्यपि केही गलत फैसलाका लागि उनीमाथि कम्पनीले औंला पनि उठाएको थियो ।
सेरिल फेसबुक पब्लिस हुनभन्दा ४ वर्षअघि अर्थात् सन् २००८ मा कम्पनीसँग आबद्ध भएकी थिइन् । साथै कम्पनीका सीईओ मार्क जुकरबर्गपछि सर्वाधिक चर्चित अनुहारसमेत थिइन् उनी ।
फेसबुकभन्दा पहिले उनी गुगलमा कार्यरत थिइन् ।
राजीनामापछि उनको ठाउँमा जेभियर ओलिभन फेसबुकका नयाँ सीओओ बनेका छन् ।
‘जब मैले सन् २००८ मा कम्पनी ज्वाइन गर्दा आगामी ५ वर्षसम्म काम गर्छु भन्ने सोचेकी थिएँ’, सेरिलले फेसबुकमा लेखेकी छिन्, ‘तर, त्यहाँ मैले १४ वर्ष गुजारें । अब जीवनमा नयाँ अध्याय लेख्ने समय आएको छ ।’
आगामी दिनमा समाजका लागि काम गर्ने इच्छा भएको पनि उनले उल्लेख गरेकी छिन् ।
एडभरटाइजिङ बिजनेसको नेतृत्व
सेरिलले फेसबुक (हाल मेटा) लाई एडभरटाइजिङ बिजनेसको नेतृत्व गर्दै नयाँ उचाइमा पुर्याइन् । आज कम्पनीको वार्षिक बिजनेस १०० अर्ब डलरभन्दा बढी छ ।
राजीनामापछि मार्क जुकरबर्गले सेरिल फेसबुकसँग जोडिइरहने बताएका छन् । उनी कम्पनीको बोर्ड अफ डायरेक्टरको हिस्सा रहिरहनेछिन् ।