काठमाडौं । लक्ष्य होल्डिङसले गैरकानुनी तवरले सर्वसाधारणबाट ठूलो रकम उठाइरहेको पाएपछि नेपाल राष्ट्र बैंकले उसको बैंक खाता रोक्का गरेको छ ।
केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई पत्राचार गरी लक्ष्य इन्भेष्टमेन्टको खाता रोक्का गर्न निर्देशन दिएको हो । खाता रोक्का भएकाले लक्ष्यले अब कुनै पनि बैंकबाट कारोबार गर्न नपाउने भएको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक अनुसन्धानबाट गैरकानुनी रुपमा सर्वसाधारणबाट पैसा उठाएको देखिएपछि लक्ष्यमाथि थप अनुसन्धान अघि बढाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यरो (सीआईबी) लाई पत्राचार गरिसकेको छ । सीआईबीले लक्ष्यमाथि अनुसन्धान गरिरहेको जनाएको छ ।
अमुख कम्पनी खडा गर्ने, सर्वसाधारणलाई त्यसको सेयर बिकाउने र त्यहाँबाट मनग्य आम्दानी गर्ने रणनीति बनाएर लक्ष्यका अध्यक्ष केशव श्रेष्ठ अघि बढेको बोर्डको अनुसन्धानबाट खुलेको हो । सूचीकृत नै नभएको कम्पनीको सेयर मूल्य ३ वर्षभित्र ५ हजार रुपैयाँ पुर्याउने भनेर लगानीकर्तासँग ठूलो रकम उठाएको देखिएको छ ।
श्रेष्ठ सेयर लगानीकर्तामाझ लोकप्रिय व्यक्ति हुन । अध्यक्ष श्रेष्ठले न्यूनतम ५ लाख रुपैयाँको सेयर किन्नुस यति वर्षपछि प्रतिफल दिन्छौ भनेर भ्रामक विज्ञापन गरेर सेयर बेचाउने कार्य भइरहेको अनुसन्धानबाट देखिएको छ ।
बोर्डले सीइआईबीलाई अनुसन्धान गर्न पत्राचार गर्नेबाहेक धितोपत्र बोर्ड ऐनसमेत लक्ष्यमाथि आकर्षित गर्ने बताएको छ । वित्तीय अपराधअन्तर्गत सीआईबीले अनुसन्धान प्रक्रिया अघि बढाउँछ भने बोर्ड ऐनअनुसार थप अनुसन्धान गरिरहेको छ ।
गोल्डम्यान इन्भेष्टमेन्टकै जसरी लगानीकर्तासँग पैसा उठाउने प्रपञ्चमा लक्ष्य होल्डिङ लागेको देखिएको छ । गोल्डम्यान कम्पनीमाथि थप अनुसन्धान भइरहेको छ ।
लक्ष्य होल्डिङले पनि गैरकानुनी रुपमा सर्वसाधरणबाट ठूलो रकम उठाएको बोर्डको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । श्रेष्ठ सेयर बजारका बारेमा प्रशिक्षण दिँदै हिड्ने व्यक्ति हुन । उनको सेयर विश्लेषण हेरेर सेयर किन्ने लगानीकर्ता पनि धेरै छन ।