काठमाडौं । हिमालयन बैंकसँग एक आपसमा गाभिने (मर्जर) प्रक्रिया भाडिएसँगै नयाँ जोडीको खोजीमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकले अन्ततः मेगा बैंकलाई रोजेको छ ।
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेको निरन्तर प्रयासका कारण मेगा बैंकसँग मर्ज हुन लागेको हो । इन्भेष्टमेन्ट र मेगा दुवै बैंकका सञ्चालकले आगामी दुई हप्ताभित्र मर्जका लागि सम्झौता गर्ने तयारी भएको छ ।
दुवै बैंकका सञ्चालकहरूले इन्भेस्टमेन्टकाे १ सयबराबर मेगाको ९० रुपैयाँ सेयर आदनप्रदान अनुपात (स्वाप रेसियो) तय हुने निर्णय भइसकेको बताएका छन् ।
प्रारम्भिक सहमतिअनुसार ज्योतिप्रकाश पाण्डे नै एकीकृत बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) बन्नेछन् । यस्तै अध्यक्षमा पनि नेपाल इन्भेस्टमेन्टका पृथ्वीबहादुर पाण्डेले नै निरन्तरता पाउनेछन् । ज्योति नेपाल इन्भेस्टमेन्टको सीईओ हुन् ।
हिमालयनसँग मर्ज भाडिँएपछि यसै साताबाट इन्भेस्टमेन्ट बैंकको सेयर कारोबार खुलेको हो । सोमबार र मंगलबार नकारात्मक सर्किट लागेर कारोबार भएको इन्भेस्टमेन्ट सेयर बुधबार पनि ७.२५ प्रतिशतले घटेर प्रतिकित्ता ३०७ रुपैयाँमा खुम्चिएको छ ।
उता, इन्भेस्टमेन्टसँग मर्ज गर्ने हल्ला चलेसँगै मेगाको सेयरमा सोमबार सकारात्मक सर्किट लागेको थियो भने मंगलबार र बुधबार सामान्य बढेर प्रतिकित्ता २३४ रुपैयाँ पुुगेको छ ।
हिमालयनका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले अर्थमन्त्री जनार्दन शर्माको साथ लिएर इन्भेस्टमेन्टसँगको मर्ज भाँडेका थिए । मर्जर प्रक्रिया भाडिएपछि हिमालयनको सेयर कारोबार खुलेको छैन । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा बन्देज लगाएको छ ।
त्यसपछि इन्भेस्टमेन्टले नयाँ जोडी खोज्न थालेको थियो । प्रारम्भिक समझदारी भएकाले औपचारिक सम्झौता नभइकन मर्जर प्रक्रिया अघि बढ्ने छैन । कतिपयले यो अवधिलाई सेयर बजारमा खेल्ने अवसरका रुपमा प्रयोग गर्ने अवस्था पनि छ । त्यसैले सम्झौता गर्नुअघि लगानीकर्ताले सचेततापूर्वक लगानी निर्णय गर्नु आवश्यक छ ।
हाल इन्भेस्टमेन्टको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख र सञ्चित कोष १४ अर्ब ३५ करोड ११ लाख रुपैयाँ छ । १६ अर्ब ३१ करोड चुक्ता पुँजी रहेको मेगाको ६ अर्ब ५४ करोड ५६ लाख रुपैयाँ सञ्चित कोष छ ।
चालू आर्थिक वर्षको तेस्रो त्रैमाशसम्म नेपाल इन्भेस्टमेन्टले २ अर्ब ४७ करोड ७२ लाख रुपैयाँ खुदनाफा गरेको छ । यस्तै मेगाले २ अर्ब १ करोड ४५ लाख रुपैयाँ खुदनाफा गरेको छ ।
हिमालयन र इन्भेस्टमेन्ट दुुई बैंक एकीकृत गराएर ठूलो बैंक बनाउने अध्यक्ष पाण्डेको योजना मर्जर प्रक्रिया भाँडिएसँगै सुस्ताएको थियो । २०७८ वैशाख ३० गते हिमालयन र इन्भेस्टमेन्ट बैंक मर्ज गर्ने सम्झौता गरे पनि असोज अन्तिममा हिमालयन मर्जर प्रक्रियाबाट भागेको थियो । दुवै बैंकलाई मर्जका लागि साझेदार खोजी गरी प्रक्रिया छिटो अघि बढाउन केन्द्रीय बैंकले दबाब दिँदै आएको छ ।