काठमाडौं । हनुमान्ता ग्रुपले लक्ष्मी आलमुनियम इन्डष्ट्रिज सञ्चालनमा ल्याउने भएको छ । उद्योगले भदौको दोस्रो साता (सेप्टेम्बर) देखि आवास र व्यावसायिक भवनका लागि आवश्यक आलमुनियम प्रोफाइल उत्पादन गर्ने भएको छ । उद्योगको मासिक उत्पादन क्षमता ४०० टन छ । अहिले सुनसरीको सोनापुरमा कारखानाको पूर्वाधार निर्माणको काम भइरहेको छ ।
ग्रुपले ४८ करोड ३० लाख रुपैयाँ लगानीमा लक्ष्मी आलमुनियम उद्योग सञ्चालनमा ल्याउन लागेको हो । कुल लगानीमध्ये ८० प्रतिशत अर्थात् ३८ करोड ६० लाख रुपैयाँ बैंकको ऋण र बाँकी २० प्रतिशत ९ करोड ७० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी रहेको छ ।
ग्रुपले सन् २०२१ को अप्रिलमा लक्ष्मी आलमुनियमको स्थापना गरेको हो । उद्योगको काम सुरुअघिभन्दा लागत २७ प्रतिशतले बढेको बताइएको छ । उद्योग निर्माणको काम जारी रहेको लक्ष्मी आलमुनियमले जनाएको छ ।
उद्योगले आलमुनियम प्रोफाइल उत्पादन गर्न आलमुनियम इगोट्स, स्क्र्याप र ब्लेड जस्ता कच्चा वस्तु भारतबाट आयात गर्ने भएको छ । कच्चा पदार्थ भण्डारन बढाउन उद्योगलाई थप चालू पुँजी आवश्यक भएको केयर रेटिङस नेपाल लिमिटेडले औंल्याएको छ ।
बैंकिङ प्रणालीमा तरलताको संकट, ब्याजदर वृद्धि र कच्चावस्तुको मूल्यमा हुने उतारचढावले कम्पनीको नाफालाई असर गर्ने भएको छ । उद्योग विराटनगर भन्सारबाट २७ किलोमिटर टाढा रहेको छ । नेपाल–भारत सीमानजिक रहेकाले उद्योगले ढुवानी लागतबाट लाभ लिन सक्ने छ ।
लक्ष्मी आलमुनियम हनुमान्ता ग्रुपको छैटाैं उद्योग हो । ग्रुपले यसअघि नै लक्ष्मी आलमुनियम एन्ड ग्लास प्रालि सञ्चालनमा ल्याइसकेकाले यसबाट नयाँ उद्योगलाई थप लाभ हुनेछ ।
यस्तै प्रकारका उद्योग भएकाले आलमुनियमको क्रस सेलिङका लागि थप वितरण च्यानल र राम्रो अवसर रहेको छ । ग्रुप विभिन्न ब्राण्डका होम डेकरको उत्पादन र व्यापारमा संलग्न छ । कम्पनीको कार्यकारी निर्देशकमा मनोज अग्रवाल रहेका छन् ।
लक्ष्मी आलमुनियमले ६० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङसले केयर एनपी ए फोर रेटिङ दिएको छ । जसमध्ये ४० करोड रुपैयाँ दीर्घकाल र २० करोड रुपैयाँ छोटो अवधिको ऋण रहेको उद्योगले जानकारी गराएको छ ।
विनासकारी भूकम्पपछि नयाँ भवनको निर्माण बढेसँगै आलमुनियमको माग बढेको छ । आलमुनियम सस्तो, दिगोपन र जडान गर्न सहज रहेका कारण यसको बजार बढ्दै गएको निश्कर्ष उद्योगको छ ।
सरकारले पनि भवन निर्माणमा आलमुनियम उत्पादन प्रयोगमा जोड दिएकाले यसको थप बजार विस्तारमा सघाउन पुर्याउने अपेक्षा उद्योगको छ ।