काठमाडौं । आगामी आर्थिक वर्षको बजेटबाट निराश बनेको सेयर बजार तेस्रो दिन पनि राताम्मै भएको छ । यद्यपि, सेयर बजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) घट्नेक्रम घटेको छ ।
जेठ १५ गते बजेट आउनुअघि २२२३.७८ बिन्दुमा रहेको सूचक बुधबार २१३०.७१ बिन्दूमा रोकिएको छ । तीन दिनमा ९३ अंक ओर्लिएको सूचक बुधबार २ हजारको विन्दूलाई पच्छ्याउन खोजेको थियो । बुधबार कारोबार सुरु हुँदा २१३८ बिन्दुमा रहेको नेप्से घाटा घण्टाभित्रै बढेर २१५४ सम्म पुगेको थियो ।
तर, बजार त्यसपछि भने घट्न थाल्यो । यद्यपि, बीचबीचमा केही बढ्ने संकेत गरे पनि टिकाउपूर्ण रहेन ।
२११९.४१ बिन्दूसम्म झरेको सूचक अन्तिम समयमा भने केही सुधारिँदै मंगलबारको तुलनामा ७.२१ अंकले घटेर कारोबार रोकिएको थियो । घटेको बजारमा सेयर मूल्य बढ्ने कम्पनीहरू बढी देखिएका छन् । ऋणपत्र र म्युचुअल फन्डबाहेक ८४ कम्पनीको सेयर मूल्य ओरालो लाग्दा १०१ कम्पनीको मूल्यमा वृद्धि आयो ।
अन्तिम समयमा मैलुङ खोलाको सेयर मूल्य सकारात्मक सर्किट लाग्दै बन्द भयो भने बलेफी हाइड्रो पावरको पनि झण्डै १० प्रतिशतले मूल्य बढ्यो । गत वर्षको नाफाबाट लाभांश नदिने घोषणा गरेको शिखर इन्स्योरेन्सको नकारात्मक सर्किट लागेर कारोबार हुँदा मर्ज भाँडिएपछि कारोबार खुलेको तेस्रो दिन पनि नेपाल इन्भेस्टमेन्ट बैंकको सेयर मूल्य पनि ७.२५ प्रतिशतले घटेर कारोबार भएको छ ।
यद्यपि, बुधबार सबैभन्दा बढी कारोबार गर्ने कम्पनीको सूचीमा रहेको नेपाल इन्भेस्टमेन्टको १२ करोड १३ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ । १ अर्ब ७ करोड कुल कारोबार हुँदा बुधबारको कारोबार प्रवृत्ति र नेप्से सूचकको प्रभावलाई विश्लेषण गर्दा बिहीबार पनि बजार केही घट्ने संकेत गर्छ । तर, सुरुवाती कारोबारमा भने केही सकारात्मक प्रभाव देखिने छ ।
बजेटबाट निराश बनेका एकथरी लगानीकर्ताले आन्दोलनको ध्वाँस दिइरहेका छन् । तर, तरलता अभाव, बिग्रँदो अर्थतन्त्र, बढ्दो ब्याजदरका कारण बजार सजिलै उठने सम्भावना कम छ ।
केन्द्रीय बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा पनि सेयर धितो कर्जाको सीमा नचलाएको र ब्याजदर घटाउने प्रयास नगरेको जस्ता कारणले बजारमा थप दबाब सिर्जना भएको छ ।
आगामी मौद्रिक नीतिले सेयर बजारसँग सम्बन्धित पक्षलाई कसरी लिन्छ, त्यस आधारमा बजारले नयाँ गति समाउन सक्छ । तर, नयाँ मौद्रिक नीति जारी नहुँदासम्म अपवादबाहेक सेयर बजार उकालो लाग्ने छनक छैन । यद्यपि, घट्दा पनि ठूलो रफ्तारमा घट्ने ठाउँ निकै कम छ ।
अधिकांश कम्पनीहरुको सेयर मूल्य अंकित मूल्यका दोब्बरसम्म आइपुगेकाले त्यसमा केही हेरफेर मात्रै हुने स्थिति छ ।