काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान गन्तव्यको मौसम सफा भएको जानकारी नभएसम्म उडान अनुमति नदिने निर्णय गरेपनि विभागिय समन्वय अभावले एयरलाइन्सहरु समस्यामा परेका छन् ।
मंगलबार बेलुका प्राधिकरणले इनरुटको मौसमको सफा भएको जानकारी नभएसम्म उडान अनुमति नदिने निर्णय गरेपछि बुधबार विहानै पहाडी क्षेत्रमा जाने एयरलाइन्सहरुले उडान अनुमति नपाउँदा यात्रुहरु समस्यामा परेका छन् ।
एयरलाइन्सहरुले विमानस्थलमा रहेको एयर कन्ट्रोल टावरसँग उडान अनुमति मागेपनि मौसम विभागले मौसमको विषयमा जानकारी गराउनु पर्छ भनेर पन्छिदै आएको यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले जानकारी दिए । प्राधिकरणले दिएको निर्देशन एयरलाइन्सले मान्न तयार रहेपनि विभागीय समन्वय अभावले दुख पाएको बताए ।
प्राधिकरणले गरेको निर्णय सहि भएपनि निर्णय कार्यन्वयनका लागि आवश्यक भौतिक पूर्वधारहरु र समन्वय गरि सुरक्षित उडान गर्ने वातावरण बनाउन सम्बन्धीत निकायलाई समेत अनुरोध गरेका छन् ।
टावरले मौसम विभागलाई देखाउने र मौसम विभागमा कर्मचारीहरु नै नआएको र उनिहरुले अन्यौलता देखाउँदै आएका छन् । विमानस्थलको टावरले भने मौसम विभागले मौसम सफा भएको पुष्टि नगरेसम्म उडान अनुमति नदिने अडान राख्दै आएको छ । जसको कारण पहाडी क्षेत्रमा उडान गर्ने एयरलाइन्सहरु समस्यामा परेका छन् । त्योसँगै विमानस्थलमा पुगेका यात्रुहरु समेत अलपत्र परेका छन् ।
यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरले केन्द्रिय कार्यालयले गरेको निर्णयमा आफुलाई केहि जानकारी नभएको बताए ।
यस्तै प्राधिकरणका प्रवक्ता देवचन्द्र लाल कर्णले भने यस विषयमा कुनै प्रतिक्रिया जनाउन मानेन् । तपाईहरुको निर्णयमा कुनै समन्वय भएको छैन हो भन्ने प्रश्नमा कर्णले यो विषयमा कुनै प्रतिक्रिया दिन चाहन्न,हामीले सुरक्षाका लागि निर्णय गरेका हौं,उनले भने ।