काठमाडौं । निजी लगानीमा नेपालमा नयाँ स्टिल उद्योग थपिने भएको छ । सुदुरपश्चिममा स्थापना भएको मालिका स्टिल प्राइभेट लिमिटेड आउँदो २ महिनापछि सञ्चालनमा आउने भएको हो । उद्योगले ग्याभनाइज (जीआई) वायर, नेल्स, टोरकारी र ग्याभिन बक्स उत्पादन गर्ने भएको छ ।
१ अर्ब रुपैया लगानीमा स्थापना भएको उद्योगको उत्पादन क्षमता वार्षिक १४ हजार ४०० टन रहेको छ । आउँदो जुलाइभित्र उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउने मालिकाले जानकारी गराएको छ ।
उद्योगको उत्पादन प्लाण्टको निर्माण सन् २०२१ को मे महिनाबाट सुरु भएको हो । गएको अप्रिलसम्म ७५ प्रतिशत वित्तीय प्रगति भएको मालिकाले जनाएको छ । उद्योग २०२१ को अप्रिलमा स्थापना भएको हो ।
उद्योग कैलालीको टिकापुरमा रहेको छ । उद्योग कैलालीको सत्ति भन्सार नाकाबाट २० किलोमिटर दुरिमा रहेको छ । उद्योगले आवश्यक पर्ने अधिकाँश कच्चा पदार्थ भारतबाट आयात गर्ने भएको छ ।
मालिकाले ९० प्रतिशत माइल्ड स्टिल रड वायर जस्ता कच्चा वस्तु भारतबाट आयात गर्ने छ । कच्चा वस्तुको मूल्यमा हुने उचारचढाव र डलरको भाउले उद्योगको आम्दानीमा असर गर्ने छ ।
यस्तै बैंकको ब्याजदर र बजार पनि अस्थिर भएकाले केही असर गर्ने संभावना रहन्छ । भारतको सीमा नजिक भएकाले उद्योगको ढुवानी लागत कम भई तुलानात्मक लाभ लिन सक्ने संभावना छ । उद्योगले आगामी दिनमा भारतमासमेत जीआई वायर निर्यातका लागि प्रयास गर्ने भएको छ ।
उद्योगले आफ्ना डिलर तथा खुद्रा व्यापारीहरुमार्फत नेपालको पश्चिम क्षेत्रमा बिक्री गर्ने लक्ष्य लिएको छ । नेपालको स्टिल बजारमा धेरै प्रतिस्पर्धा रहेको छ । सरकारको पुँजीगत खर्चले उद्योगको उत्पादन हुने जीआई वायर, टोरकारीलगायत ग्याभिनको बजार निर्धारण गर्ने छ ।
उद्योगमा ६ जना व्यक्तिगत र ३ जना संस्थागत लगानी रहेको छ । मालिकाको अध्यक्षमा टीकाराम जैसी रहेका छन् । उनको स्टिल र हार्डवेयर बिजनेसमा दुई दशकको अनुभव रहेको छ । जैसी एके ट्रेडर्स एन्ड हार्डवेयर, मालिका इन्कर्पोरेट, मालिका तारजाली स्टिल उद्योग, श्री मालिकादेवी इन्भेष्टमेन्ट कम्पनीको उद्योगमा लगानी रहेका छ ।
उद्योगले सरकारले निर्माण गर्ने जलविद्युत, सडक, विमानस्थल, यातायात, पुननिर्माणलगायत पूर्वाधारमा जीआई वायर, टोरकारी, ग्याबिन बक्स र नेल्स बिक्री गरेर आम्दानी बढाउने संभावना छ ।
कच्चा मालको मूल्यमा भएको परिवर्तनलाई तयार उत्पादनहरूमा हस्तान्तरण गर्ने कम्पनीको क्षमता कच्चा मालसँग सम्बन्धित विदेशी मुद्राको उतारचढाव जोखिम व्यवस्थापन गर्दा कम्पनीको नाफाको लागि महत्वपूर्ण हुनेछ।
मालिकाले १ अर्ब रुपैयाँ ऋणको रेटिङ गराएको छ । केयर रेटिङस नेपालले केयर एनपी बि प्लस रेटिङ दिएको छ । मालिकाले विभिन्न बैंकहरुबाट ७४ करोड ४० लाख अल्पकालिन र २५ करोड ६० लाख रुपैयाँ दीर्घकालिन ऋण लिएको छ ।