काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेनुकुमारी यादवले काठमाडौंमा मोनोरेल सञ्चालन गर्ने योजना हटाउनुपर्ने बताएकी छन् ।
काठमाडौंभित्रको अव्यवस्थित बसोबासका कारण मोनोरेलको स्टेसन कहाँ बनाउने ? यात्रु चढ्ने/झर्ने स्टेसन पनि कहाँ बनाउने भन्ने योजना नभएकाले मोनोरेलको योजना हटाउनुपर्ने मन्त्री यादवले बताएकी हुन् ।
मंगलबार विकास तथा प्रविधि समितिमा रेल तथा मेट्रोरेल आयोजनाको वर्तमान अवस्थाको छलफलमा बोल्दै मन्त्री यादवले भनिन्, ‘म मन्त्री हुनुभन्दा पहिलेदेखि नै रेल र मेट्रोरेलको कुरा सुन्दै आएको छु । तर, सञ्चालनको गुरुयोजना नै बनेको छैन । मेट्रोरेल पनि चक्रपथभित्र सञ्चालन गर्न सजिलो छैन ।’
जनतालाई मेट्रोरेलको सपना देखाउनुभन्दा सरकाको क्षमता र योजनामा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
रेल विभागका महानिर्देश दिपककुमार भट्टराईले नेपालमा हालसम्म रेल सञ्चालनसम्बन्धी गुरुयोजना नबन्दा काम गर्न समस्या भएको बताएका छन् । छलफल कार्यक्रममा बोल्दै उनले भने, ‘रेल सञ्चालनसम्बन्धी गुरुयोजना नहुँदा हामीले रेलको योजना नै बनाउन सकेका छैनौं । मैले त गुरुयोजनाको समस्यालाई मुख्य समस्याको रुपमा लिएको छु, रोड, वन तथा अन्य क्षेत्रसँग कसरी रेलको सामन्जस्यता गर्न सकिन्छ थाहा छैन ।’
त्यस्तै मुआब्जा रकम वितरण गर्न पनि पर्याप्त बजेट प्राप्त नहुने महानिर्देशक भट्टराईको भनाइ छ । जसले गर्दा आयोजनाको काममा बाधा पुग्ने विभागले जनाएको छ ।
गुरुयोजनाबिना रेलमार्ग निर्माण गर्ने विषयमा राप्रपाका अध्यक्ष तथा संसद् राजेन्द्र लिङ्देललगायत अन्य संसदहरुले आपत्ति जनाएका थिए । साथै गुरुयोजना बनाएर मात्रै रेलको क्षेत्रमा काम गर्न संसदहरुले माग गरेका छन् ।
विकास तथा प्रविधि समितिकी सभापति कल्याण कुमारी खड्काले गुरुयोजनाबिनै रेलमार्ग आयोजना सञ्चालन गरेकोप्रति समितिको ध्यानाकर्षण भएको जनाएकी छन् । साथै रेलमार्ग निर्माण स्थलका जग्गाका लागि मुआब्जा रकम पर्याप्त नभएको विषयमा सभापति खड्काले भनिन्, ‘मन्त्रीको क्षेत्रका आयोजनालाई अर्बौंको बजेट जाँदा संसदको क्षेत्रमा करोडको मात्रामा बजेट विनियोजन गर्ने परिपाटी मन्त्री र संसदहरुले हटाउनुपर्छ । संसद् हुँदासम्म मेरो क्षेत्रमा बजेट कम भयो भन्ने अनि मन्त्री भइसकेपछि बेवास्ता गर्ने बानी हटाएर आवश्यकताअनुसार बजेट छुट्याउने बानी बनाउनुहोला ।’
भौतिक मन्त्रालयका सचिव गोपाल प्रसाल सिग्देलले गुरुयोजना संवेदनशील विषय भएकाले निर्माण प्रक्रियालाई अगाडि बढाउने बताएका छन् ।
यद्यपि गुरुयोजना नभए पनि रेल सञ्चालनको खाका बनाएर काम गर्दै आएको उनको भनाइ छ ।