काठमाडौं । एभरेस्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्सले मर्जरसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारणसभा बोलाएका छन् ।
मर्जरमा जाने सम्झौता गरेका यी दुवै कम्पनीले असार २ गतेका लागि अलग–अलग स्थानमा विषेश साधारणसभा बोलाएका छन् ।
यसअघि बिमा समितिले यी दुवै कम्पनीलाई आपसमा गाभिनका लागि सैद्धान्तिक सहमति ‘लेटर अफ इन्टेन्ट एलओआई’ दिइसकेको छ ।
यस्तै, दुवै कम्पनीको डीडीएपश्चात् एभरेस्टको १०० कित्ताबराबर हिमालयनको ८५ किता अर्थात् १ः०.८५ स्वाप रेसियो कायम गरी मर्जर प्रक्रियालाई अन्तिम रुप दिनेछ ।
मर्जरपश्चात् बन्ने कम्पनीको नाम हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड राख्ने प्रस्तावसमेत पारित गर्नेछ ।
मर्जरपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने बताइएको छ ।
हाल एभरेस्टको चुक्ता पुँजी सवा १ अर्ब र हिमालयनको करिब १ अर्ब १७ करोड रुपैयाँ छ ।
एभरेस्टले बिहान ११ बजे, अग्रवाल भवन, कमलपोखरी काठमाडौंमा र हिमालयनले पनि बिहान ११ बजे, एयरपोर्ट होटल, एयरपोर्ट काठमाडौंमा विषेश साधारण सभा बोलाएका छन् ।
मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय बबरमहल काठमाडौंमा रहनेछ ।
हिमालयनर एभरेस्टबीच गत वैशाख २२ गते एकापसमा मर्जर गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।