काठमाडौं । दक्षिण कोरियाली सामग्री प्रविधि कम्पनी, इन्नोसियसआर र एनएमबी बैंक अफ नेपालले, नेपालमा गुड ब्रिक्स सिस्टमलाई प्रवद्र्धन र अघि बढाउन नयाँ साझेदारी गरेका छन् ।
गुड ब्रिक्स सिस्टम इन्नोसियसआरद्वारा यसको गुड सोयल स्टेबिलाइजर प्रयोग गरी विकास गरिएको नन–फायर इँटा उत्पादन प्रविधि हो । समझदारीमा बैंकका तर्फबाट प्रमुख लगानी अधिकृत, श्रीजेश घिमिरे र इन्नोसियसआरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत साम युन सुक लीले हस्ताक्षर गरेका छन् ।
उक्त समझदारीका अनुसार, एनएमबी बैंकले बहुपक्षीय विकास बैंक, गैरसरकारी संस्था, सरकार र अन्य वित्तीय संस्थाहरू लगायतका विभिन्न स्रोतहरूबाट गुड ब्रिक्स सिस्टमसम्बन्धी बाह्य कोषका लागि एजेन्ट बैंकको रूपमा काम गर्नेछ ।
बैंकले इँटाभट्टा मालिकहरूलाई गुड ब्रिक्स सिस्टम लागू गर्न आवश्यक लगनशीलता र प्रक्रियाहरू पूरा गर्न ऋण, जमानत, मिश्रित वित्तीय उपकरणद्वारा वित्तीय सहयोगहरू पनि उपलब्ध बनाएको छ । बैंकले वातावरणप्रति थप जिम्मेवार बन्दै दिगो बैंकिङ अभियानको एक पाइला स्वरुप इन्नोसिएसआरसँग साझेदारी गरेको छ ।
इन्नोसियसआरद्वारा विकसित गुड सोइल स्टेबिलाइजर, एक विशेष रसायन हो जसले कडा अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्ने इँट्टाहरूका लागि आवश्यक गुणस्तरमा पुग्न माटो र सिमेन्ट बीच बाइन्डिङ गर्न सक्षम बनाउने कम्पनीको दाबी छ ।
इन्नोसियसआर अनुसार गुड ब्रिक्स सिस्टमले सोइल स्टेबिलाइजर प्रयोग गरी इँटा उत्पादन गर्ने प्रक्रिया, इन्डोर कारखानामा इँटाहरू उत्पादन गर्न हाइड्रोलिक मेसिनको प्रयोग गर्छ, जसले वर्षभरि कोइला प्रयोग नगरी गुणस्तरीय इँटाहरू प्रदान गर्नका साथै यसमा १÷१० का आधारमा कामदार र जग्गा चाहिने हुन्छ ।
एनएमबी बैंकको नेदरल्यान्ड्स डेभलपमेन्ट फाइनान्स कम्पनीसँग साझेदारी पनि रहेको जनाएको छ । इन्नोसियसआरका प्रमुख कार्यकारी अधिकृत साम युनसुकलीका अनुसार गुड ब्रिक्स सिस्टम नेपालमा दिगो र नाफामुखी बन्नका लागि इँटाभट्टा मालिकहरूका लागि एकमात्र समाधान बनिरहेको छ ।
पछिल्लो समय, कोइला र श्रमिकको मूल्यवृद्धि र मौसममा आएको परिवर्तनले इँटा उत्पादकहरू निकै दबाबमा परेको देखिन्छ, उनले भने । साम युनसुकलीका अनुसार गुड ब्रिक्स सिस्टमले इँटा उद्योगका कठिनाइहरूलाई सम्बोधन नगरी अरु विभिन्न फाइदाहरू पनि ल्याइ रहेको छ । यसले उत्पादकहरूलाइ थप राजस्व, गुणस्तरीय र वातावरणमैत्री इँटा प्रदान गर्छ ।