काठमाडौं । निजी लगानीमा स्थापना भएको टाइम फर्मास्युटिकल्स प्राइभेट लिमिटेडको व्यवसाय बढ्दै गएको छ । कम्पनीले विभिन्न ब्राण्डका औषधिहरु बेचेर सन् २०२१ मा ७९ करोड ११ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ ।
सन् २०२० मा टाइमले ६८ करोड ६३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसैगरी सन् २०१९ मा ६६ करोड ३८ लाख, सन् २०१८ मा ७२ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यस्तै सन् २०१७ मा ६५ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
टाइमले बजार रणनीतिहरुमा परिमार्जन गरेपछि व्यवसाय वार्षिक रुपमा १५ प्रतिशतले विस्तार भएको जनाएको छ । सन् २०२२ सुरु भएयता टाइमको आम्दानी २० प्रतिशतले बढेको छ । टाइमले उत्पादन गर्ने औषधीको अहिले बजारमा माग बढेको र बजार हिस्सा पनि बढ्दै गएको छ ।
टाइमका देशभरी २०० बढी औषधीका वितरक रहेका छन् । यसले गर्दा पनि कम्पनीलाई औषधीको बजार विस्तारमा सहयोग पुर्याएको छ । टाइमको कुल आम्दानीमा १० वटा वितरकको हिस्सा २१ प्रतिशत रहेको छ । थेरापिक सेग्मेन्टमा उद्योगले उत्पादन विस्तार गरेको छ । यसले गर्दा आगामी दिनमा टाइमको व्यवसाय विस्तारमा सघाउ पुर्याउने छ ।
कम्पनीले एन्टिबायोटिक, एन्टिकोल्ड, सप्लिमेन्ट, एनाग्लास्टिक र एन्टिडाइबेटिक औषधीहरु उत्पादन गर्दै आएको छ । औषधी उत्पादन गर्न कम्पनीले आवश्यक विभिन्न कच्चा पदार्थ र प्याकेजिङ्ग विदेशबाट आयात गर्दै आएको छ ।
नेपालमा ५० भन्दा बढी औषधी उद्योग भएकाले आन्तरिक बजारमा औषधीमा प्रतिस्पर्धा रहेको छ । टाइमले पनि आन्तरिक बजारमा प्रतिस्पर्धाको सामना गर्नुपरेको जनाएको छ ।
टाइमले ६१ करोड ५० लाख रुपैयाँ ऋणको रेटिङ्ग गरेको छ । इक्रा नेपाल लिमिटेडले सो ऋणलाई इक्रा एनपी त्रिपल बी ए थ्री रेटिङ्ग दिएको छ ।
नेपालको निजी क्षेत्रको पुरानो औषधी उद्योगहरुमध्ये एक टाइम सन् १९९४ मा स्थापना भएको हो । उद्योगले १९९७ देखि व्यवसायिक रुपमा औषधी उत्पादन थालेको हो ।
उद्योग सञ्चालनमा आएको २५ वर्ष पुगेको छ । टाइमका संस्थापकहरु औषधी व्यवसायमा संलग्न रहेका छन् । कम्पनीको कार्यकारी अध्यक्षमा नारायणबहादुर क्षेत्री छन् । कम्पनीमा उनको १० प्रतिशत हिस्सा रहेको छ । कम्पनीमा ४० जना सेयर सदस्य रहेका छन् ।