काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउने निर्णय गरेसँगै मूल्य घट्ने अडकलबाजी सुरु भएको छ । सरकारले जारी गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा पनि पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने उल्लेख गरिएको छ ।
सरकारले गरेको दुई निर्णयकै कारण काठमाडौं उपत्यकाभित्र रहेका निजी पेट्रोल पम्पहरुले डिपोबाट तेल उठाउनै बन्द गरेका छन् । ती पम्पहरुले स्टक भएका तेल बिक्री गर्नुको बाहेक अरु तेल ल्याएका छैनन् । जसको कारण पेट्रोल पम्पहरुमा पेट्रोल छैन भन्ने बोर्ड राखेका छन् ।
पेट्रोलको कृतिम हाहाकार भएसँगै अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले सञ्चालन गरेको पम्पहरुमा तेल हाल्नको लाइन बढ्न थालेको छ । निजी पम्पहरुले तेल दिन बन्द गरेपछि अहिले सरकारी स्वामित्वमा भीड बढिरहेको हो ।
नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले शनिबार र आइतबार बिदा भएकाले डिपोबाट पम्पहरुले तेल उठाउन ढिला भएको कारण राजधानीका पम्पहरुमा तेल अभाव भएको बताए ।
‘शनिबार र आइतबार बिदा हुँदा डिपोहरु नखुल्ने र सोमबार ढिलो गरी तेल लोड हुँदा समस्या देखिएको हो, अध्यक्ष प्रधानले भने, मूल्य घट्ने हल्लाले पनि केही हदसम्म व्यवसायीले ढिला गरेको हुनसक्छ’ ।
उनले आफ्ना सदस्यहरुलाई मूल्य बढ्ने वा घट्ने विषयको सरोकार नराखी तेल उठाएर जनतालाई वितरण गर्नका लागि अनुरोध गरिसकेको जानकारीसमेत दिए । त्योसँगै नेपाल आयल निगमले पनि अहिले पम्पहलाई इन्धन दिनका लागि पहिलाको भन्दा केही कडाइ गरेको कारण पनि व्यवसायीहरुले भनेको बेलामा तेल नपाएको उनको गुनासो छ ।
आफ्ना सदस्यहरुको बचाउँ गर्दै अध्यक्ष प्रधानले आफूहरु जनतालाई दुःख दिने पक्षमा नरहेको र निगमकै कारण ढिलासुस्ती भएको बताए ।
यता निगमका सहप्रवक्ता पुस्कर कार्कीले पेट्रोल पम्पहरुले मागे जतिनै इन्धन दिइरहेको बताए ।
थानकोट डिपोबाट मागेअनुसार नै पम्पहरुलाई तेल दिइरहेको बताउँदै कुनै पनि बहानामा जनतालाई दुःख दिन नहुने बताए । ‘यदि बजारमा कृतिम अभाव गराएको र मूल्य घट्ने वा बढ्ने हल्लाले तेल नउठाएको पाइएमा अध्ययन गरी कारबाही गर्ने छौं, ’सहप्रवक्ता कार्कीले भने ।
दुई दिने बिदाको कारण पम्पहरुलाई कुनै समस्यासमेत नहुने बताए । शुक्रबार नै पर्याप्त मात्रामा तेल पठाइसकेको हुनाले दुई दिनमै केही पम्पमा तेल सकिए पनि सबैमा समस्या आउन नपर्ने भन्दै यस विषयमा निगमको ध्यानाकर्षण भएको समेत उनको भनाइ छ ।