काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान सोमबार दुर्घटनाग्रस्त अवस्थामा मुस्ताङको थासाङमा भेटिएको छ ।
जहाज भेटिएसँगै दुर्घटनास्थलमा उद्धारका लागि टोली पठाउन भने समस्या भएको छ । प्रतिकूल मौसमका कारण टोली पठाउन कठिनाइ भएको हो ।
तीनपटकसम्म प्रयास गरिए पनि मौसमले साथ नदिँदा हेलिकप्टर डाइभर्ट भएको बुझिएको छ ।
अहिले कोभाङमा कैलाश र डाइनस्ट्री एयरको हेलिकोप्टर तैनाथ राखिएको छ । यस्तै जोमसोम विमानस्थलमा फिस्टेल एयरको हेलिकोप्टर पनि तयारी अवस्थामा छ ।
हालै नेपाली सेनाको हेलिकोप्टरले ११ हजार फिटको उचाइमा १५ जनाको फौजलाई उतारेको छ । उनीहरू पैदल हिँडेर दुर्घटना भएको स्थानतर्फ जाँदैछन् ।
दुर्घटनास्थल १४ हजार ५ सय फिट उचाइमा हो । यसअघि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली लिएर फिस्टेल एयरको हेलिकोप्टर दुर्घटनास्थल नजिकै अवतरण गरेको थियो ।
नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार दुर्घटना भएको स्थानमा ठूलो हेलिकोप्टर पठाउन तत्काल असम्भव देखिएको छ । यद्यपि प्रयास जारी गरेको उनले बताए । उनका अनुसार अहिले त्यहाँ पुगेको टोलीले शव संकलन गरिरहेको छ ।
शव संकलन गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौं ल्याउने तयारी छ ।
आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको थियो । पोखराबाट उडेको १२ मिनेटपछि सम्पर्कविहीन भएको ट्विनटर जहाज बेलुकीसम्म पनि नभेटिएपछि खोजीकार्य आइतबाका लागि स्थगित गरिएको थियो ।
तर, सोमबार बिहान भने यार्सागुम्बा संकलन गर्नेहरुले दुर्घटनाग्रस्त जहाजको अवशेष फेला पारी प्रहरीलाई खबर गरेका थिए । लगत्तै सुरक्षाकर्मीको टोली हेलिकोप्टरमार्फत त्यसतर्फ गएको थियो ।
नाइन एन–एईटी कलसाइनको जहाजमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु सवार थिए । जहाजमा चालक दलका ३ सदस्य पनि थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । को पाइलट उत्सव पोख्रेल र जहाज परिचारिका किस्मी थापा थिइन् ।