काठमाडौं । आइतबार बिहानै ४ वटा उडान गरेपछि क्याप्टेन वसन्त लामाले जहाज हस्तान्तरण गरे । अर्थात् उनको आइतबारको उडान तालिका सकिएको थियो । पोखरामै बस्नुभन्दा दिउँसो जोमसोममै गएर बिदा मनाउने भन्दै उनले आफूले उडान गर्दै आएकै जहाजमा टिकट काटे ।
उनले उडाउँदै आएको जहाज क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए । तर, दुर्भाग्य ! प्रभाकरसँगै क्याप्टेन लामाको पनि सोही उडान अन्तिम हुन पुग्यो ।
क्याप्टेन लामा काठमाडौं बालुवाटार निवासी हुन् । उनका बुबा पनि नेपाल एयरलाइन्सका क्याप्टेन हुन् । क्याप्टेन दिके बुद्धिका छोरा वसन्त यती एयरलाइन्ससँग सन् १९९८ देखिनै आबद्ध भएका थिए । उनै क्याप्टेन लामा २०७४ सालमा हुम्लाको सिमकोटमा भएको दुर्घटनामा सामान्य घाइते मात्र भएका थिए ।
मंसिरमा हुम्लाको सिमकोट विमानस्थलबाट सुर्खेतका लागि उडेको तारा एयरको ट्विनटर जहाज दुर्घटना भएको थियो । दुर्घटना हुँदा वसन्त लामा क्याप्टेन थिए । दुर्घटनामा परी लामा र सहपाइलट रहेका अमित गुरुङको नाकमा चोट लागेको थियो ।
४ वर्षअघि भएको दुर्घटनामा बाँचेका क्याप्टेन लामालाई तारा एयरभित्र अनुभवी चालक मानिन्छ । ’यदि उनी बिदा मनाउन जोमसोम नगई पोखरा नै आराम गरेका भए यो अवस्था आउँदैनथ्यो’, एक पाइलटले भने, ‘बिदा मनाउन जाँदा उहाँको दुःखद निधन भयो, जुन एयरलाइन्सका लागि अपूरणीय क्षति हो ।’
लामो समयदेखि एयरलाइन्समा आबद्ध भएका दुई जना क्याप्टेनहरुलाई एक साथ गुमाउनु दुर्भाग्य भएको ती पाइलटको भनाइ छ । ‘दुर्घटना हुनु आफैंमा दुःखद कुरा हो’, उनले भने, ‘कसैले चाहेर दुर्घटना गराउँदैन । सायद मौसममा खराबी आएकाले घटना भएको हुन सक्छ ।’