काठमाडौं । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटनामा पर्यो । क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाइरहेको जहाज खराब मौसका कारण दुर्घटनामा पर्यो ।
उनै दिवंगत क्याप्टेन घिमिरेले विगत १८ वर्षदेखि जहाज उडाउँदै आएका थिए ।
एयरलाइन्सभित्र अनुभवी र पुराना क्याप्टेनका रुपमा चिनिँदै आएका घिमिरेले आइतबार बिहान पोखराबाट जोमसोमका लागि तेस्रो उडान गर्दै थिए । आफूसहित २२ जना लिएर जोमसोमका लागि उडान गरेका क्याप्टेन घिमिरेको सोही उडान अन्तिम बन्न पुग्यो ।
९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको सो जहाज मुस्ताङको घाँसास्थित डाँडामा दुर्घटनामा पर्यो । बाक्लो कुहिरोका कारण डाँडामा ठाकिएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।
तर, घटना कसरी र किन भयो ?सरकारी निकायले अध्ययन गर्न बाँकी नै छ ।
काठमाडौं कलंकी निवासी घिमिरे करिब ५५÷५६ वर्षका थिए । एयरलाइन्सभित्र मिजासिलो स्वभाव भएका उनी सधैं मौसमप्रति सचेत रहनेभित्र पर्थे ।
यती एयरलाइन्सका प्रवक्ता सुर्दशन बर्तौलाले क्याप्टेन घिमिरे एयरलाइन्सभित्रकै सिनियर रहेको बताए । उनले भने, ‘दुर्घटनामा भएको उहाँको निधनले हामी सबै स्तब्ध छौं ।’
‘पोखरा र जोमसोमको मौसम सफा भएकै कारण उडान गरे पनि बीचमा एक्कासि कुहिरो लागेकाले अन्य ठाउँबाट अवतरण गराउने ठाउँ नै नपाएका हुन सक्छन्’, त्यस क्षेत्रमा उडान गर्दै आएका एक क्याप्टेनले क्यापिटल नेपालसँग भने, उहाँ जबर्जस्ती उडान गर्ने क्याप्टेनभित्र पर्नुहुन्न ।’ पोखरा–जोमसोम क्षेत्रमा बढी हावा चल्ने भएकोले जोखिम मानिन्छ ।
जहाजमा क्याप्टेन घिमिरेसँगै सहपाइलट उत्सव पोख्रेल र एयरहोस्टेज क्रिस्मी थापा पनि थिइन् ।
तारा एयरको ९ (एनएइटी) कल साइनको ट्विनअटर जहाजमा ३ जना चालकदलका सदस्यसहित ६ जना विदेशी र १३ जना नेपाली गरी कुल २२ जना सवार थिए ।