पोखरा १६ जेठ महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय रहँदै आएको जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छिन् । पोखरामा सम्पन्न क्लवको तेस्रो साधारण सभा तथा दोस्रा अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।
क्लबको उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र कोषाध्यक्षमा अञ्जना तझ्या चयन भएका छन् । क्लवको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरसीप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जी एण्ड गोल्डेन जी डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरसीप डाइरेक्टरमा नम्रता दाहाल, यूएन. कमिटी डाइरेक्टरमा सविता श्रेष्ठ र पव्लिक रिलेसन एण्ड कम्युनिकेसन डाइरेक्टरमा कल्पना भट्टराई कार्की चयन भएको क्लबका निर्वतमान अध्यक्ष लिना श्रेष्ठ गोशलीले जानकारी दिइन् । उनका अनुसार जोन्टा ईन्टरनेसनलसँग आबद्ध जोन्टा क्लव अफ पोखरा २०१९ मा स्थापना भएको क्लव हो ।
विभिन्न पेशा व्यवसायमा आवद्ध व्यवसायिक महिलाहरु यस क्लबका आवद्ध छन् । हाल २७ जना सदस्य रहेको यस क्लवले महिला सशक्तिकरणका विभिन्न कार्यक्रमलाई जोड दिदै आएको छ । न्यायिक र समतामुलक समाजका लागि क्रियाशिल यस क्लवले पोखरा र लेखनाथ क्षेत्रलाई केन्द्रीत गरेर महिला हिंसा र विभेद बिरुद्ध सशक्त आवाज उठाउनुका साथै शिक्षा स्वास्थ्य क्षेत्रमा समेत विभिन्न सचेतना जगाउने कार्यहरु गर्दै आएको निर्वतमान महासचिव रोजिना रञ्जित विजुक्छेले जानकारी दिइन् ।
उनका अनुसार क्लवले सेवा तथा वकालतद्धारा लैगिंक हिंसा विरुद्ध सचेतना, बाल विवाह अन्त्य, रजस्वला सम्बन्धि सकारात्मक धारणाको विकासका कार्यक्रम गर्दै आएको छ भने पूर्व प्राथमिक शिक्षा क्षेत्रमा सम्बद्ध शिक्षिकाहरुलाई तालिम, शिशुका लागि आमाको दूधको महत्वबारेका कार्यक्रमलाई पनि जोड दिदै आएको छ । क्लबले पोखरा महानरपालिको शिक्षा महाशाखासँग समन्वय गरेर श्रीकल्याण मावि रिठेपानी र जनकल्याण उच्च मावि भण्डाढिकमा रहेको शिशु विकास केन्द्रको अपनत्व लिएर त्यस केन्द्रलाई सहयोग गर्दै आएको छ ।
क्लवले किरोरावस्थामा आउन सक्ने विभिन्न मानसिक र शारीरिक अवस्थाहरुलाई मध्य नजर गर्दै विद्यालयहरुमा सचेतना एवम् उप्रेरणामुलक कार्यक्रम गर्ने नवनिर्वाचित अध्यक्ष मोनिका थापाले जानकारी दिइन् ।