काठमाडौं । आगामी आर्थिक वर्षको बजेटको कार्यान्वयनबाट उच्च आर्थिक वृद्धि हासिल हुने, कृषि क्षेत्रको रूपान्तरणको आधार निर्माण हुने, खाद्य वस्तुमा आत्मनिर्भरता तर्फ उन्मुख हुने अनुमान सरकारले गरेको छ ।
यस्तै निर्यात प्रवर्द्धन हुने, व्यापार घाटा न्यून हुने, आधारभूत पूर्वाधार निर्माण हुने, सामाजिक क्षेत्रमा लगानीको माध्यमबाट गुणस्तरीय र जीवनोपयोगी शिक्षा तथा आधारभूत स्वास्थ्य सेवाको पहुँच वृद्धि हुने अनुमान छ । बहुआयामिक गरिबीमा कमी आउने र सामाजिक सुरक्षाका कार्यक्रममार्फत सामाजिक न्यायको जग मजबुत भई समाजवाद उन्मुख अर्थतन्त्रको आधार तयार हुनुका साथै न्यायपूर्ण समाज निर्माणमा योगदान पुग्ने अपेक्षा लिएको अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् ।
कृषि र उद्योग क्षेत्रको विकास, प्रसारण लाइन विस्तार, विमानस्थल तथा पर्यटन पूर्वाधारको विकास, सडक, विद्युत, सिँचाइ आयोजनाहरूका निर्माण र सूचना प्रविधिसम्बन्धी आयोजनाहरूको कार्यान्वयनबाट आर्थिक विकासको आधारशीला निर्माण हुने अपेक्षा बजेटले राखेको छ।
प्रस्तुत बजेटको कार्यान्वयनबाट कृषि तथा वन, पर्यटन, उद्योग, विद्युत र सेवा लगायतका क्षेत्रमा उल्लेख्य मात्रामा रोजगारी सिर्जना हुने अनुमान सरकारको छ।