काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अवस्थामा सुधार आई सो आर्थिक वृद्धिको लक्ष्य पुरा हुने बताएका हुन ।
यस्तै मुद्रास्फिती ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य सरकारको छ । चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धि लक्ष्य राखेकोमा ५.८९ प्रतिशत हुने अनुमान गरिएको छ ।
अर्थतन्त्रमा सिर्जना भएको गतिशीलता, पुनरुत्थान, निजी क्षेत्रको उत्साहप्रद लगानी र सरकारद्धारा आर्थिक तथा सामाजिक क्षेत्रमा गरेको लगानीबाट आगामी आर्थिक वर्ष ८ प्रतिशतले आर्थिक वृद्धि हुने अपेक्षा राखेको अर्थमन्त्री शर्माले जानकारी दिए ।
सरकारले लिएको आर्थिक वृद्धि र समष्टिगत आर्थिक स्थायित्व सहितको सन्तुलित आर्थिक नीतिले संस्थागत विकास सहितको दिगो विकासको आधार सिर्जना हुने उनको भनाई छ । उल्लिखित आर्थिक वृद्धि हासिल गर्न र समष्टिगत आर्थिक स्थायित्व कायम गर्न मुद्रास्फीतिलाई ७ प्रतिशतमा सीमित राख्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा गर्ने भएको छ।
विश्व अर्थतन्त्रमा देखिन सक्ने उतारचढाव र अस्थिरता, इन्धनको मूल्यमा आउन सक्ने अस्वभाविक वृद्धि र जलवायु परिवर्तन तथा प्रकोपको जोखिमले बजेट कार्यान्वयनबाट प्राप्त हुने प्रतिफलमा असर पुर्यार्उन सक्ने अनुमान बजेटको छ ।
वित्तीय जोखिम पहिचान, अनुगमन र व्यवस्थापन गरी वित्तीय जोखिम न्यून गरिनेछ। समष्टिगत आर्थिक स्थायित्व, राजस्व प्राप्ति, खर्च व्यवस्थापन, ऋण व्यवस्थापन, सार्वजनिक संस्थान व्यवस्थापन र वित्तीय क्षेत्रका जोखिम व्यवस्थापन गरी जोखिम न्यून गरिने बजेटमा उल्लेख छ ।