काठमाडौं । नेपाल दाना उद्योग संघले दानाजन्य कच्चा पदार्थको भन्सार महसुल घटाई १.६ प्रतिशत कायम गर्न माग गरेको छ । संघको २१ औं साधारणसभामा बोल्दै अध्यक्ष रविन पुरीले दानाजन्य कच्चा पदार्थमा नेपाल आत्मनिर्भर नहुँदासम्म भन्सार घटाउन माग गरेका हुन् ।
दाना, कुखुराको चल्ला, अण्डा र मासु उत्पादनमा नेपाल आत्मनिर्भर भए तापनि मुख्य कच्चा पदार्थहरु मकै तथा भटमासको पिना आयात गनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । तर, उक्त कच्चा पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य आकासिएसँगै भन्सार दरको कारणले झन मारमा किसान परेको अध्यक्ष पुरिले बताए ।
साधाराणसभा कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्र राय यादव पनि उपस्थित थिए । किसान तथा व्यवसायीलाई भन्सारको कारण समस्या भएको भन्दै उनले भने, ‘नेपाल मकै र भटमासको पिनामा आत्मनिर्भर नहुन्जेलसम्म भन्सार महसुल घटाई १.६ प्रतिशत कायम गर्ने, नेपालमै खेती प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सरकारी संयन्त्रले ध्यान दिनुपर्छ ।’
त्यस्तै संघका विशिष्ट सदस्य डा. तिलचन्द्र भट्टराईले नेपालको कुखुरापालन उद्योग अनेक आरोह अवरोह पार गर्दै यहाँसम्म आइपुगेको, उद्योगहरुले नविनतम प्रविधि अंगाली रहेको र प्रतिव्यक्ति अण्डा उपलब्धता ७२ तथा मासु ६.१ केजी रहेको बताएका छन् ।
कार्यक्रममा बोल्दै कृषिमन्त्री यादवले मकै तथा भटमासको खेतीमा मन्त्रालयले उचित पहल गर्ने आश्वासन दिएका छन् । साथै समय सापेक्ष कृषि नीति बनाउन पहल गरिरहेको र नेपाल दाना उतपादन, कुखुरा उत्पादन र अण्डा उत्पादनमा आत्मनिर्भर भएको विषय गर्वको विषय भएको मन्त्री यादवको भनाइ छ ।
साधरणसभाले रविन पुरीको अध्यक्षतामा आगामी २ वर्षका लागि नयाँ कार्यसमिति चयन समेत गरेकोछ । कार्यसमितिमा अध्यक्ष रविन पुरीसहित प्रथम उपाध्यक्ष शंकरप्रसाद कडेंल, द्धितीय उपाध्यक्ष प्रदीपकुमार रुंगटा, तृतिय उपाध्यक्ष ज्ञानेन्द्र पराजुली, महासचिव केशवराज थापा, कोषाध्यक्षमा उमेशचन्द्र सापकोटा, सचिवमा राजकुमार पराजुलीलगायत अन्य सदस्यहरु रहेका छन् ।
कार्यक्रमा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष दिनेश कुमार श्रेष्ठ तथा अन्जनकुमार श्रेष्ठ, नेपाल ह्याचरी उद्योग संघका अध्यक्ष ऋषीराम पौड्याल, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मनिता जोशी वैद्यकोसमेत उपस्थिति रहेको थियो ।