काठमाडौं । बाबा रामदेवको कम्पनी रुचि सोयाले चौथो त्रैमासमा कुल २३४ करोड भारु नाफा कमाएको छ ।
यद्यपि गत वर्षको तुलनामा भने नाफा कम हो । तर, कम्पनीले आफ्ना सेयरहोल्डरलाई राम्रो लाभांश दिने बताएको छ ।
रामदेवको कम्पनीले केही समयअघि मात्रै एफपीओ जारी गरेको थियो ।
कम्पनीले आर्थिक वर्ष २०२१/२२ को त्रैमासको विवरण जारी गरेको छ । यस अवधिमा कम्पनीको स्ट्यान्डअलोन प्रफिट २३४.४३ करोड भारु रहेको छ ।
गत वर्ष भने यो नाफा ३१४.३३ करोड भारु थियो ।
यस्तै चौथो त्रैमासमा कम्पनीको अपरेसनल इनकम बढेको छ । ३७.७२ प्रतिशतले बढेर ६ हजार ६६३.७२ करोड पुगेको छ । गत वर्ष अपरेसनल इनकम ४ हजार ८३८.५ करोड भारु थियो ।
साथै यस त्रैमासमा कम्पनीले ७४.६५ करोड भारुको निर्यातसमेत गरेको छ ।
२ रुपैयाँको सेयरमा ५ रुपैयाँ लाभांश
रुचि सोयाले चालू आव २०२१/२२ का लागि प्रतिसेयर ५ रुपैयाँ लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले २ रुपैयाँ अंकित मूल्यको सेयरमा लाभांश दिनेछ । जुन सेयरको फेस भ्यालूको २५० प्रतिशत हो ।