प्लास्ट नेपाल फाउन्डेसनको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा देशकै ठूलो प्लास्टिक मेला सुरु भएको छ । मेला १४ गतेसम्म आयोजना हुनेछ । प्रदर्शनीमा प्लास्टिकजन्य उत्पादन, यसका कच्चापदार्थ र मेसिनरी उपकरण गरी अहिलेसम्म एक सयभन्दा बढी स्टल रहेको बताइएको छ । जसमध्ये एक तिहाइ स्टल नेपाली प्लास्टिक उद्योगीहरुको रहेका छन । प्लास्टिक उद्योगको अवस्थाका बारेमा केन्द्रीत रहेर प्लास्ट नेपाल फाउन्डेसनका अध्यक्ष राहुलकुमार अग्रवालसँग क्यापिटल नेपालले गरेको कुराकानी ।
प्लास्ट नेपालले तेस्रो संस्करण प्रर्दशनी गर्नुपर्ने कारण के हो ?
नेपाली उद्यमीहरुका लागि नयाँ प्रविधि, नयाँ मेसिनहरु, नयाँ उत्पादनहरु के आइरहेका छन भन्ने जानकारी गराउन हामीले यो प्रदर्शनी आयोजना गरेका हौं । यहाँ ९५ वटा विभिन्न प्लाष्टिकजन्य वस्तुहरुको स्टलहरु राखिएको छ । त्यसमा भारतीय कम्पनी र भारतीय कम्पनीसँग आवद्ध जर्मन प्रविधि, जापानिज प्रविधिका मेसिन र सप्लायर्सहरु पनि आएका छन् । नेपालका उद्योगहरुमा नयाँ प्रविधि भित्र्याउन यो प्रदर्शनीको आयोजना गरेका हौं ।
प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने नेपालमा कति वटा उद्योगहरु छन् ?
प्लास्टिकजन्य वस्तु उत्पादन गर्ने साना तथा ठूला उद्योगको संख्या नेपालमा करिब ५ सय छ । हाम्रो प्लास्ट नेपालमा करिब ८५ वटा ठूला उद्योगहरु नै आवद्ध छन् ।
प्लास्टिक उद्योगले नेपालको माग धान्न सक्छन् ? निर्यातको अवस्था के छ ?
प्लाष्टिकका धेरै उत्पादनहरुमा आन्तरिक माग हामीले धान्न सक्छौं । जस्तो पाइप बनाउने हो भने पाइपको सम्पूर्ण उत्पादनमा हामी नेपालको माग धान्न सक्छौं । त्यस्तै पानीको बोतलको लागि प्याकेजिङ र बोराहरु नेपालको मागअनुसार उत्पादन गर्न सक्छौं । माग मात्रै धान्ने होइन, गुणस्तरिय उत्पादन गरेर निर्यात पनि गर्न सक्छौं ।
निर्यात पनि गरिरहेका छौं । तराईमा धेरै उद्योगहरु छन्, जसले भारतमा प्लास्टिकजन्य वस्तुहरु निर्यात गरिहेका छन् । उत्पादन लागत घटाएर निर्यात बढाउन बिजुलीको महशुल सस्तो बनाउनुपर्छ ।
पहिला हामीसँग पर्याप्त बिजुली थिएन । अब पर्याप्त भएको छ । बिजुली महशुलमा सहुलियत दियो भने पक्कै पनि छिमेकी मुलुकसँग मूल्यमा प्रतिस्पर्धा गर्न सक्छौं र निर्यात पनि बढाउन सक्छौं । अहिलेको हाम्रो भुक्तानी सन्तुलन (ब्यालेन्स अफ पेमेन्ट) को समस्यालाई पनि समाधान गर्न सकिन्छ ।
नेपालका प्लास्टिक उद्योगमा कति लगानी भएको छ ? रोजगारी कतिले पाइरहेका छन् ?
नेपालका प्लास्टिक उद्योगमा करिब २५ अर्ब रुपैयाँ लगानी रहेको छ । रोजगारीको कुरा गर्दा १ लाख प्रत्यक्ष र डेढ देखि २ लाख अप्रत्यक्ष रोजगारी हामीले प्रदान गर्दै आएका छौं ।
आउँदो आर्थिक वर्षको बजेटमा तपाईंहरुका माग तथा सुझाव के छन ?
बजेटमा हामीले एक्पोट इन्सेन्टिभको कुरा गरेका छौं । र निरन्तर बिजुली तथा लो पावर कस्टको माग गरेका छौं । त्यस्तै कुनै उत्पादनमा कच्चा पदार्थ र तयारी वस्तुको भन्सारदर कम छ भने २ तहको सुविधा दिनको लागि हामीले माग गरेका छौं ।