काठमाडौं । सेयर बजार बिहीबार पनि सकारात्मक बनेर बन्द भएको छ । विगत लामो समयदेखि घट्दो क्रममा रहेको नेप्से बिहीबार लगातार देस्रो दिन सकारात्मक बनेको हो । नेप्से सूचक ८.०३ अंकले बढेर २२३९.६० विन्दुमा बन्द भएको छ । यघपि, कारोबार रकममा भने केही संकुचन आएको छ । बिहीबार ८८ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । समग्रमा लगानीकर्ता आगामी आर्थिक वर्षको बजेटको प्रतिक्षामा देखिएका छन् ।
सरकारले मंगलबार सार्वजनिक गरेको नीति तथा कार्यक्रम पुँजी बजारमैत्री देखिएको छ । सोही अनुसार बजेट पनि पुँजी बजारको हितमा हुनेमा लगानीकर्ता आशावदी बनेका छन् । अहिले पुँजी बजारलाई विशेषगरी तरलता अभाव, चर्को ब्याजदर र नीतिगत कमजोरीले ठूलो असर गरेको छ । राष्ट्र बैंकले पुँजी बजारलाई कस्ने गरी सेयर धितोकर्जामा लगाएको ४–१२ को सीमाले झन् बढी असर गरेको छ ।
आगामी बजेट र त्यसपछि आउने मौद्रिक नीतिमा नीतिगत कमजोरीहरु सुधार भएमा पुँजी बजारका लागि सकारात्मक माहोल सिर्जना हुने विश्लेषण गरिएको छ । सरकारी नीति सेयर बजारमैत्री बनेमा लगानीकर्ताको मनोविज्ञानमा पनि सकारात्मक बन्ने सम्भावना रहन्छ । लगानीकर्ताले पनि बजार सधैं घटिरहने वा बढिरहने मात्र गर्दैन भन्ने कुरा भुल्नु हुँदैन । सेयर बजार चक्रीय गतिमा चल्ने भएकाले न्यून विन्दुमा आएको बजार अन्ततः फेरि माथि जन्छ भन्ने विश्वास हुन जरुरी छ ।
घट्दो बजार दीर्घकालीन लगानीका लागि एक अवसर पनि हो । भाउ सस्तो भएका बेला राम्रा कम्पनीमा लगानी गर्न सकेमा सेयर बजारबाट फाइदा मिल्ने सम्भावना बढी हुन्छ । यद्दपि, सेयर छनोट गर्दा भने कम्पनीको पछिल्लो अवस्था तथा आधारभूत र प्राविधिक पक्षलाई पनि विशेष ध्यान दिनुपर्ने हुन्छ ।
नेप्सेमा बिहीबार २२२ कम्पनीको २३ लाख २४ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । बैंकिङ र जीवन बिमा समूहमा बढी सुधार भएको छ । मेगा बैंकको भाउ सर्किट लागेर बढेको छ । कारोबार रकमका अधारमा मेगा बैंक नै अघि आएको छ । यसको ५ करोड ४२ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः अरुण काबेली हाइड्रोपावर र नबिल बैंक परेका छन् ।