काठमाडाैं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा. महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ ।
युरोप भ्रमणमा रहेका पुनलाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) पोर्चुगलले राजधानी लिस्बनमा एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
पुनले खोज, अनुसन्धान, आविष्कार र प्रविधिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै संघले सम्मान गरेको हो । सो अवसरमा पुनसँग अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रममा उनले आफूले गरेको काम, भावी योजना र राष्ट्रिय आविष्कार केन्द्रले गरेका गतिविधिका विषयमा बताएका थिए ।
केन्द्रले ड्रोन, कृषिसम्बन्धी सामग्री, शिक्षा, स्वास्थ्य सामग्री, खाद्यान्न, पेयपदार्थ, रोबोटलगायतका विभिन्न नयाँ–नयाँ अनुसन्धान र आविष्कारको काम गरिरहेको सो अवसरमा उनले जानकारी गराएका थिए । नेपाली युवालाई विदेशिनबाट रोक्नका लागि स्वदेशमै रोजगारीको सिर्जना गर्नुपर्ने धारणा राख्दै पुनले रोजगारी सिर्जनाका लागि देश समृद्ध हुनुपर्ने बताए ।
राज्यले दक्ष मानव पुँजीको पहिचान र सही प्रयोग गर्न नसक्दा देशको विकास हुन नसकेको पुनको भनाइ थियो ।
दक्ष मानव पूँजीको उत्पादनका लागि आफू लागिपरेको उल्लेख गर्दै नयाँ–नयाँ खोज, अनुसन्धान, आविष्कार, प्रविधि र उद्यमशीलताको क्षेत्रमा लाग्नेलाई केन्द्रले प्रोत्साहन गरिरहेको बताए ।
पुन पोर्चुगलमा आयोजित कार्यक्रममा सहभागी भई बेलायततर्फ प्रस्थान गरेका छन् । यसअघि उनी बेलायत, डेनमार्क, स्वीडेन, फिनल्यान्ड, जर्मनी, स्विजरल्यान्ड, फ्रान्स, लग्जेम्बर्ग, बेल्जियम, नर्बे, पोल्यान्ड, इटाली, स्पेनलगायतका देशमा नेपाली समुदाय तथा त्यहाँका विश्वविद्यालय र अनुसन्धान केन्द्रमा अध्ययन, अनुसन्धान, अवलोकन तथा अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए ।
यसैबीच राष्ट्रिय आविष्कार केन्द्रको सहयोगका लागि संघले आर्थिक संकलनसमेत गरिरहेको म्याग्दी प्रवासी नेपाली संघ पोर्चुगलका महासचिव दिपु मगरले जानकारी दिए ।
केन्द्रको सहयोगार्थ संघले हालसम्म ६ हजार युरो संकलन गरिसकेको र करिब १० हजार संकलन गरी सहयोग रकम केन्द्रलाई हस्तान्तरण गरिने मगरले जानकारी दिए ।