काठमाडौं । डिजिटल भुक्तानी सेवाप्रदायक ‘खल्ती’को एन्ड्रोइड एप डाउनलोड गर्नेको सङ्ख्या ५ लाख नाघेको छ । हाल खल्तीका प्रयोगकर्ता ८ लाख पुगेका छन् ।
छोटो अवधिमै डाउनलोड गर्नेको सङ्ख्या ५ लाख पुग्नु कम्पनीका लागि ठूलो सफलता भएको खल्ती डिजिटल वालेटका प्रबन्ध निर्देशक मनीष मोदीले बताए । अब सबै प्रकारका भुक्तानी सेवालाई अनलाइन प्रविधिमा ल्याउन कम्पनी थप उत्प्रेरित बनेको उनले बताए ।
नेपाल दूरसञ्चार प्राधिकरणको नयाँ तथ्याङ्कअनुसार नेपालमा मोबाइल सेवाको पहुँच १३७ प्रतिशतभन्दा धेरै छ, र ६५ प्रतिशत जनसङ्ख्याले तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रयोग गर्छन् । त्यस्तै, नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार ८३ लाख नेपालीले मोबाइल बैङ्किङ सेवा र ९ लाखले इन्टरनेट बैङ्किङ सेवा प्रयोग गर्छन् ।
तथापि, विश्व बैङ्कले सन् २०१७ मा प्रकाशित गरेको तथ्याङ्कअनुसार ४५ प्रतिशत नेपालीको मात्रै बैङ्कमा खाता छ । यस्तो अवस्थामा खल्तीले बैङ्किङ पहुँच बाहिर रहेको जनसङ्ख्यालाई डिजिटल प्लेटफर्ममा ल्याउन र वित्तीय सेवा प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको ठहर छ ।
खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, बिमा शुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, ई–कमर्समार्फत किनिएका सामानको भुक्तानी गर्न सकिन्छ ।