दाङ । तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै नेकपा (एमाले) विजयी भएको छ । नगरप्रमुखमा टीकाराम खड्का र उपप्रमुखमा स्यानी चौधरी विजयी भएका छन् । खड्का निकटतम प्रतिस्पर्धी गठबन्धनतर्फबाट उम्मेदवार नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६ सय ९१ मतान्तरले पछि पार्दै विजयी भएका हुन् ।
खड्काले ३१ हजार ४ सय ८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालय तुलसीपुरका प्रमुख राजेश्वर अर्यालले बताए।
त्यस्तै उपप्रमुखमा चौधरी निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५ सय ३२ मतपछि पार्दै विजयी भएकी हुन्। चौधरीले ३० हजार ५ सय ९७ मत ल्याएको थिए भने रानाले २१ हजार ६५ मत ल्याएका थिए।
तुलसीपुर उपमहानगरपालिकामा यसअघि पनि एमालेले नै जितेको थियो । तुलसीपुरमा १ लाख १ हजार ४ सय ६० मतदाता रहेकामा ७४ हजार ३ सय ३६ मत खसेको थियो ।
२०५४ यता एमालेकै राज
तुलसीपुरमा २०४९ सालमा कांग्रेसका शङ्करप्रसाद आचार्य प्रमुख निर्वाचित भएका थिए भने कांग्रेसकै प्रदीपबहादुर शाह उपप्रमुख थिए । त्यतिबेलाका फुलबारी, टरिगाउँ, उरहरि, पवननगर, हलवार, विजौरी, डुरुवा र मानपुर गाविस अहिले उपमहानगरपालिकामा गाभिएका छन् । विसं २०४९ मा यी सबै गाविसमा कांग्रेसले अध्यक्ष र उपाध्यक्षमा जितेको थियो ।
तुलसीपुरलाई समृद्ध बनाउँछुः खड्का
निर्वाचित भएसँगै राससलाई प्रतिक्रिया दिँदै टीकाराम खड्काले तुलसीपुरलाई समृद्ध बनाउने बताए । उनले जनताले विश्वास गरेर जित्न सफल भएको भन्दै मन जित्ने गरी काम गर्ने बताए। त्यस्तै नवनिर्वाचित उपप्रमुख स्यानीय चौधरीले पिछडिएका वर्गको उत्थान गर्न आफू तत्पर रहने बताए । रासस